चालु आवको ४ महिना वितिसक्दा पनि ७ वाणिज्य बैंकले अझै गरेनन् लाभांश घोषणा


काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ को मूनाफाबाट १३ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् ।

गत आर्थिक वर्षको नाफाबाट सानिमा बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, स्ट्यान्डर्ड चार्टड बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका हुन् ।

अहिलेसम्म १२ वटा बैंकले लाभांश घोषणा गरेका छन् भने कुमारी बैंकले कुनै लाभांश नदिने घोषणा गरेको छ । वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आईएमई र सानिमा बैंकले यस पटक नगद लाभांश मात्रै दिएका छन् भने लक्ष्मी सनराइज र सिटिजन्स बैंकले कर प्रयोजनको लागि नगद बाहेक बोनस सेयर मात्रै दिएका छन् ।

वाणिज्य बैकमा अहिलेसम्म सबैभन्दा धेरै लाभांश दिने बैंक एभरेष्ट बैंक रहेको छ । यस बैंकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १४ प्रतिशत नगद गरेर २० प्रतिशत लाभांश बाँडेको छ ।
यता, गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा कम लाभांश वितरण गर्ने बैंक सिटिजन्स बैंक रहेको छ । यस बैंकले गत आवको नाफाबाट आफ्ना लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरेर कुल ५.२६ प्रतिशत लाभांश दिएको छ।

कुन बैंकले कति दिँदैछन् लाभांश ?

सिद्धार्थ बैंक : बैंकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल १०।५३ प्रतिशतले हुन आउने १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९१५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशतले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँबराबरको बोनस शेयर र ५.५३ प्रतिशतले हुन आउने ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसहित) छन्।

लाभांश र सभा प्रयोजनका लागि बैंकले कात्तिक १७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । यसअर्थ कात्तिक १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

ग्लोबल आइएमई बैंक : बैंकले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको छ । लाभांश र सभा प्रयोजनका लागि बैंकले कात्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको कात्तिक १६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

स्ट्याण्डर्ड चार्टर्ड बैंक :  बैंकले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। बैंकले बुक क्लोजको मिति भने तय गरेको छैन् ।

सिटिजन्स बैंक : बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १७ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण कात्तिक १७ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सानिमा बैंक : बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ७।३६८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले बोनस शेयर नदिई नगद मात्रै दिने निर्णय गरेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

एभरेष्ट बैंक : बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले ६ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २४ गते बुकक्लोज गरिसकेको छ । यस अनुसार असोज २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

माछापुच्छ्रे बैंक : बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले ४ प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले साधारणसभा समेत सम्पन्न गरिसकेको छ।

नेपाल एबीआई : बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) बिक्री गर्ने घोषणा गरेको हो। मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लक्ष्मी सनराइज : बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

एनएमबी बैंक : बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल एसबिआई बैंक : बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) बिक्री गर्ने घोषणा गरेको हो। मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सांग्रिला डेभलपमेन्ट बैंक : हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। बैंकले पुस ७ गते, सोमबार, अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौँमा बिहान साढे १० बजे एक्काइसौँ वार्षिक साधारण सभा बोलाएको छ ।

विकास बैंकमा मुक्तिनाथ बैैंकको लाभांश सबैभन्दा बढी

विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुंगा बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक र साग्रीला विकास विकास बैंलले लाभांश घोषणा गरेका छन् ।

विकास बैंकमा मुक्तिनाथले सबैभन्दा बढी १३.५३ प्रतिशत बोनस तथा ४.६७ प्रतिशत नगद लाभांश गरेर १८.२ प्रतिशत लाभांश दिएको छ भने सबैभन्दा कम मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत नगद लाभांश दिएको छ ।

कामना सेवा विकास बैंकले १० प्रतिशत बोनस र ५.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस्तै, शाइन रेसुंगाले ३ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

यसैगरी, गरिमा विकास बैंकले ४ प्रतिश बोनस र ४.५३ प्रतिशत लाभांश गरी १०.५३ प्रतिशत, महालक्ष्मी विकास बैंकले ५ प्रतिशत बोनस र ५.३७ प्रतिशत नगद गरी १०.३७ प्रतिशत तथा साग्रिला विकास बैंकले ५ प्रतिशत बोनस र ५.३७ प्रतिशत नगद गरी १०.३७ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

यता, फाइनान्स कम्पनीहरुमा मञ्जुश्रीले १७ प्रतिशत नगद तथा आइसीएफसीले १५.८ प्रतिशत नगद लाभांश दिएका छन् ।

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार  १२ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।