काठमाडौँ । मंसिर महिनाको तुलनामा पुस महिनामा १३ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।
पुस महिनामा प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशत विन्दुले घटाएका छन्। त्यस्तै, प्रभु बैंक र कृषि विकास बैंकले समान ०.४ प्रतिशतविन्दुले ब्याजदर घट्दा कुमारी बैंकको ब्याजदर ०।३८ प्रतिशतविन्दु घटेको छ।
७ वािणज्य बैंकले भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा मंसिर महिनाकै दरलाई निरन्तरता दिएका हुन्।
पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोबल आइएमई बैंक र हिमालयन बैंकबाट सबैभन्दा बढी ब्याज दिने भएका छन्। यी दुबै बैंकमा अधिकतममा ५.५ प्रतिशतसम्म ब्याज पाइने छ । सबैभन्दा कम ब्याज भने प्राइम कमर्सियल बैंकबाट पाइन्छ। सो बैंकले पुस महिनामा अधिकतममा ४.२५ प्रतिशत ब्याज दिनेछ।
यता, व्यक्तिगत मुद्दति निक्षेपमा वाणिज्य बैंकहरुको अधिकतम ब्याजदरको औषत ५ प्रतिशतभन्दा तल झरेको छ । २० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर घटाएसँगै औषत ब्याजदर ५ प्रतिशत विन्दु भन्दा तल झरेको हो ।
व्यक्तिगत मुद्दति निक्षेपमा वाणिज्य बैंकहरुको अधिकतम औषत ब्याजदर ४.८३४ प्रतिशत विन्दु कायम भएको छ। यस्तो निक्षेपमा मंसिर महिनाको अधिकतम औषत ब्याजदर ५.०४०५ प्रतिशतविन्दु थियो। समीक्षा अवधिमा बैंकहरुको औषत ब्याजदर ०.२०६५ प्रतिशतविन्दु घटेको हो।
संस्थागत मुद्दतिको ब्याजदर घट्यो
व्यक्तिगत मुद्दतिको ब्याजदरसँगै वाणिज्य बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटेको छ। मंसिर महिनाको तुलनामा पुस महिनामा संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०।१३ प्रतिशतविन्दुले घटेको छ। पुस महिनाका लागि ५ वाणिज्य बैंकहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्। बाँकी बैंकले भने मंसिर महिनाकै दरलाई निरन्तरता दिएका छन्।












प्रतिक्रिया