आइमार्कले सार्वजनिक गर्यो फेवा मिनी पस उपकरण


फिनटेक कम्पनी आइमार्कले साउन्ड बक्ससहितको अत्याधुनिक क्युआर कार्ड भुक्तानी उपकरण फेवा मिनी पीओएस (पस) औपचारिक रूपमा सार्वजनिक गरेको छ । गत साता राजधानीमा आयोजित फिनटेक एक्स्पोमा प्रस्तुत गरिएको आइमार्कको यो नयाँ समाधानले बैंक, फिनटेक कम्पनी तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूको ध्यान आकर्षित गरेको थियो ।

आइमार्कद्वारा सार्वजनिक गरिएको यो उपकरण ट्याक्सी, अस्पताल, मार्ट, विद्यालय, डिपार्टमेन्टल स्टोरलगायत साना खुद्रा व्यापारीदेखि ठूला व्यवसायिक संस्थासम्मले सहज रूपमा प्रयोग गर्न सक्ने गरी डिजाइन गरिएको आइमार्कले जनाएको छ ।

उपकरणले स्टाटिक तथा डायनामिक क्युआर भुक्तानीका साथै भिसा, मास्टर कार्ड, नेपाल पे लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेबिट तथा क्रेडिट कार्डहरू स्वीकार गर्दछ । साथै, यसले अन्य विभिन्न भुक्तानी स्किमहरूलाई पनि समर्थन गर्दै कन्ट्याक्ट तथा कन्ट्याक्टलेस दुवै माध्यमबाट भुक्तानी सम्भव बनाउँछ । भुक्तानी सफल भएपछि तुरुन्तै आवाजमार्फत पुष्टि दिने साउन्ड बक्स सुविधाले कारोबारलाई थप पारदर्शी, सुरक्षित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ ।

यो समाधान नेपाल क्लियरिङ हाउस तथा अन्य बैंकको स्मार्ट भिस्टा स्वीच, कम्पास प्लस स्वीच तथा एस टू एम स्वीचमा आधारित बैंकिङ प्रणालीहरूसँग पूर्ण रूपमा एकीकृत रहेको छ । उपकरण रिमोट म्यानेजेबल भएकाले प्रणालीको निगरानी, व्यवस्थापन तथा सफ्टवेयर अपडेट सहज रूपमा गर्न सकिने आइमार्कले जनाएको छ ।

साथै, आइमार्कद्वारा उपलब्ध गराइएको मर्चेन्ट ड्यासबोर्ड मार्फत व्यापारीहरूले आफ्ना कारोबार, सेटलमेन्ट तथा रिपोर्टहरूको जानकारी रियल टाइममा प्राप्त गर्न सक्छन् । कुनै प्राविधिक समस्या उत्पन्न भएमा आइमार्कले सातामा चौबिसै घण्टा ग्राहक तथा प्राविधिक सहयोग सेवा उपलब्ध गराएको जनाएको छ ।

उपकरण सार्वजनिक गर्ने कार्यक्रममा आइमार्कका प्रमुख सञ्चालन अधिकृत सुयश चन्दले प्रत्यक्ष रूपमा उपकरणको लाइभ डेमो प्रस्तुत गर्दै यसको प्रयोग विधि, तथा प्रविधिक पक्षबारे विस्तृत जानकारी दिएका थिए । उनले साना व्यापारीदेखि ठूला संस्थासम्म कसरी एउटै उपकरणबाट क्युआर, कार्ड र साउन्ड बक्समार्फत सुरक्षित तथा द्रुत भुक्तानी सम्भव हुन्छ भन्ने कुरा स्पष्ट पारेका थिए । साथै, डिजिटल भुक्तानी विस्तारमा यस्तो समाधानको महत्व, स्केलेबिलिटी, सुरक्षा संरचना तथा नेपालको डिजिटल बैंकिङ इकोसिस्टमसँग यसको सामञ्जस्यबारे पनि उनले प्रकाश पारेका थिए ।

त्यसैगरी, आइमार्कका चिफ ग्लोबल सेल्स अफिसर सागर पोखरेलले यो समाधान साना तथा ठूला सबै व्यापारीलाई डिजिटल भुक्तानी प्रणालीमा सहज रूपमा जोड्दै नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई अझ अगाडि लैजाने एक क्रान्तिकारी कदम भएको बताएका थिए ।

एक्स्पो अवधिभर आइमार्कले साउन्ड बक्स उपकरणसँगै विभिन्न पुस्ताका पस टर्मिनलहरू, एटीएम कार्ड तथा आफ्नै इन–हाउस बैंकिङ समाधानहरू पनि प्रदर्शन गरेको थियो । यसले आइमार्कको प्रविधिक क्षमता, नवप्रवर्तनशील सोच तथा नेपालसहित अन्तर्राष्ट्रिय बजारलाई लक्षित व्यापक फिनटेक समाधान प्रस्तुत गर्ने क्षमतालाई उजागर गरेको आयोजक तथा सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार  १४ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।