नाइमा र केभीटीपिओबीच सम्झौता


काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय (केभीटीपिओ) बीच सम्झौता भएको छ । काठमाडौँ उपत्यकाका कुल १ हजार ६५१ जना ट्राफिक प्रहरीहरूलाई व्यवहारकुशल सीपहरू तथा नयाँ सवारी प्रविधि सम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्यास सम्बन्धी विषयमा निरन्तर रूपमा अद्यावधिक बनाउँदै नागरिकसँगको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको छ ।

ट्राफिक सप्ताह २०८२ अन्तर्गत “सडक दुर्घटना न्यूनीकरण विशेष अभियान” समुद्घाटन कार्यक्रमको अवसरमा हस्ताक्षरित उक्त समझदारीपत्र प्रहरी महानिरीक्षक दान बहादुर कार्की र नाइमाका बोर्ड सदस्य सौरभ ज्योतिबीच गत शनिबार आदान–प्रदान गरिएको हो। समझदारीअनुसार नाइमाले आफ्ना सदस्य कम्पनीहरूको विशेषज्ञता उपयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी/यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयहरूमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ । यसैगरी, ट्राफिक कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्नेछ ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार  १७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।