वाणिज्य बैंकहरुमध्ये नबिल बैंक बन्यो सर्वाधिक नाफा कमाउने बैंक


काठमाडौँ । वाणिज्य बैंकहरु मध्ये नबिल बैंक सर्वाधिक कमाउने बैंक बनेको छ । नबिल बैंक लिमिटेडले पौने ५ अर्ब नाफा कमाएको हो । जुन अन्य वाणिज्य बैंकहरुको तुलनामा सर्वाधिक हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ४ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४६.७१ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, बैंकको खुद व्याज आम्दानीमा भने सामान्य सुधार भएको छ । पुस मसान्थतसम्म कम्पनीको खुद व्याज आम्दानी २.४२ प्रतिशतले बढेर ८ अर्ब ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.६१ प्रतिशतले बढेर १ अर्ब ६१ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँ रिभर्स भएको छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशत बढेर १० अर्ब ६३ करोड १७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफ २६.९५ प्रतिशत बढेर ६ अर्ब ५७ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५० पैसा रहेको छ। पुस मसान्तसम्ममा बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६ पैसा बढेर ३५ रुपैयाँ ४ पैसा पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३।९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको छ ।

बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा ३६ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ।

 

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार  ०७ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।