अनुभवी बैंकर शर्माको काँधमा प्रभु बैंकको भविष्य


लामो रस्साकसीपश्चात प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले आजैदेखि (मंगलबार) लागू हुने गरी शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरमा अनुसान्धान सुरु गरेपछि निवर्तमान सीईओ अशोक शेरचन निलम्बन भएका थिए । त्यसपछि सञ्चालक समितिले गत मंसिर १४ मा निरज लम्साललाई कामु सीईओको जिम्मेवारी दिएको थियो ।

बैंकिङ क्षेत्रमा साढे तीन दशक लामो अनुभव भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा परिचित छन् । यसअघि शर्माले तत्कालीन सनराइज बैंक र माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत बनिसकेका छन् । शर्माले ग्लोबल आईएमई बैंक, एनएमबी बैंक लगायतमा समेत काम गरिसकेका थिए । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र भौतिकशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरिसकेपछि उनले सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट करिअर सुरु गरेका थिए ।

सात वर्षसम्म एसबीआई बैंकमा काम गरिसकेपछि उनी सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए स्नातकोत्तर गरेका उनले अर्थशास्त्र र एमबीए इन फाइनान्समा स्वर्ण पदक विजेता समेत हुन् । नेपाल फर्किएपछि शर्माले एनएमबीमा १० वर्ष, माछापुच्छ्रेमा ३ वर्ष, ग्लोबल आइएमईमा ६ महिना सनराइज बैंकमा ४ वर्ष काम गरे ।

पछिल्लो पटक प्रभु ग्रुपको विवाद चर्किँदा त्यसको असर प्रभु बैंकसम्मलाई परेको छ । जसले गर्दा प्रभु बैंकका सीईओ अशोक शेरचन लगायत बैंकका पदाधिकारीहरूलाई बैंकमै पसेर सीआईबीले धरपकड गरी पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

पछि शेरचन सहितका पदाधिकारी धरौटीमा छुटेपनि बैंकको काममा फर्किएका थिएनन् । किनकी त्यसबीचमा नियामक राष्ट्र बैंककै सक्रियतामा बैंक सञ्चालक समितिले बैंकका चिफ क्रेडिट अफिसर निरज लम्साललाई कामु सीईओ बनाएको थियो ।

त्यसपछि कसलाई सीईओ बनाउने भन्ने लामो रस्साकस्सीपछि सुमन शर्मालाई सीईओ बनेका हुन् । यसबीचमा अन्य विभिन्न वाणिज्य बैंकका पूर्व सीईओहरूको नाम समेत चर्चामा थियो । तर बैंक व्यवस्थापनले अन्तिममा शर्मालाई सीईओ बनाएको हो । बैंक नेतृत्वमा शर्माको ‘इन्ट्री’सँगै  तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको नेतृत्वदायी भूमिका झण्डै एक दशकपछि टुटेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रभु बैंकको वित्तीय विवरण अनुसार, बैंकको निष्क्रिय कर्जा बढ्दो छ । २०८१ पुसमा ५.०६ प्रतिशत रहेको यस बैंकको निष्क्रिय कर्जा २०८२ पुसमा बढेर ७.९४ प्रतिशत पुगिसकेको छ । बैंकको नाफा पनि घटेको छ ।

बैंकको नाफा चालु आवको दोस्रो त्रैमासमा २४ प्रतिशतले घटेर १ अर्ब १ करोड ४४ लाख रुपैयाँमा संकुचन भएको छ । गत आवको पुससम्ममा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सुस्त अर्थतन्त्र र बढ्दो निष्क्रिय कर्जाको दवावमा रहेको यस बैंकलाई राजनीतिक तथा अन्य स्वार्थको द्वन्द्वबाट मुक्त गराएर अगाडि बढाउनु नवनियुक्त शर्माको मुख्य जिम्मेवारी रहनेछ । अहिलेको संकट मोचन गर्नका लागि शर्माले निकै मेहनत गर्नुपर्ने अवस्था रहेको बैंकका कर्मचारीहरूको समेत विश्लेषण छ ।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार  १३ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।