काठमाडौँ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले २० करोड रुपैयाँ चुक्ता पुँजी पु¥याएका स्टक ब्रोकरहरूलाई मार्जिन कारोबार (सेयर किन्न ऋण दिने सुविधा) सञ्चालन गर्ने बाटो खुला गरेको छ । सेबोनले मार्जिन कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन सूचीकृत कम्पनीहरूका लागि नयाँ निर्देशिका ल्याएको हो ।
हाल नेपालमा सञ्चालित ९० वटा ब्रोकर कम्पनीमध्ये ६० वटा ब्रोकरले न्यूनतम चुक्ता पुँजीको सीमा पु¥याइसकेका छन् भने ३० वटा ब्रोकर कम्पनीले अझै तोकिएको सीमा पु¥याउन सकेका छैनन्। नयाँ निर्देशिका अनुसार हाल पुँजी नपुगेका ३० वटा ब्रोकर कम्पनीहरू तत्काल मार्जिन कारोबारका लागि योग्य मानिने छैनन् ।
यस्तै, सेबोनले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ स्वीकृत गर्दै मार्जिन सुविधाका लागि योग्य हुन कम्पनीको कम्तीमा २५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत हुनुपर्ने जस्ता मापदण्ड तोकेको छ ।
यस्तै, मार्जिन सुविधाका लागि प्रतिसेयर नेटवर्थ चुक्ता पुँजीभन्दा बढी वा बराबर हुनुपर्ने, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको हुनुपर्ने तथा आइपिओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने सेबोनद्वारा जारी निर्देशिकामा उल्लेख छ ।

निर्देशिका फागुन १ गतेदेखि लागू हुने छ । फागुन १ पछि लगानीकर्ताले ब्रोकर मार्फत ऋण सुविधा लिएर सेयर किन्न पाउने छन् । मार्जिन कारोबार अन्तर्गत लगानीकर्ताले सेयर किन्नुअघि कुल लगानी रकमको कम्तीमा ३० प्रतिशत प्रारम्भिक मार्जिनका रूपमा ब्रोकरकहाँ जम्मा गर्नुपर्नेछ।
कारोबार अवधिभर बजारको उतारचढावलाई ध्यानमा राख्दै लगानीकर्ताले न्यूनतम २० प्रतिशत मार्जिन कायम राख्नुपर्ने व्यवस्था गरिएको छ। सेयरको मूल्य घटेर यो सीमाभन्दा तल पुगेमा ब्रोकरले ’मार्जिन कल’ गर्नेछ।
तोकिएको समयमा थप रकम वा सेयर जम्मा नगरेमा ब्रोकरलाई सेयर बिक्री गरी आफ्नो लगानी असुल गर्ने अधिकार हुनेछ।
मार्जिन सुविधा उपलब्ध गराउने ब्रोकरहरूको हकमा पनि निश्चित योग्यता तोकिएको छ। यस्तो सेवा दिन चाहने ब्रोकरको चुक्ता पुँजी कम्तीमा २० करोड रुपैयाँ हुनुपर्नेछ र उनीहरू राफसाफ तथा निक्षेप सदस्यका रूपमा कार्यरत हुनुपर्नेछ ।
ब्रोकरले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन सुविधा दिन सक्नेछन्। तर कुनै एक ग्राहक वा उसको परिवारलाई कुल सुविधाको १० प्रतिशतभन्दा बढी ऋण दिन पाइने छैन।
पारदर्शिता सुनिश्चित गर्न ब्रोकरले दैनिक रूपमा बजार मूल्यका आधारमा ’मार्क–टू–मार्केट’ प्रणाली अनुसार मार्जिन हिसाब गर्नुपर्नेछ । यस अनुसार, ब्रोकरहरूले हरेक दिन बजार मूल्यका आधारमा लगानीकर्ताको मार्जिन हिसाब गर्नुपर्नेछ। पारदर्शिता सुनिश्चित गर्न ब्रोकरहरूले मार्जिन कारोबारका लागि छुट्टै ‘मार्जिन ट्रेडिङ एकाउन्ट’ र ‘मार्जिन ट्रेडिङ डिम्याट एकाउन्ट’ खोल्नुपर्नेछ। साथै, हरेक दिन भएको मार्जिन कारोबारको विवरण भोलिपल्टै नेप्सेलाई बुझाउनुपर्ने र नेप्सेले उक्त विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने प्रावधान राखिएको छ।

यता, ब्रोकरहरूले मार्जिन कारोबार सुविधा दिन आफ्नै स्रोत, बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण वा आफ्ना सेयरधनी तथा सञ्चालकहरूबाट लिने असुरक्षित ऋण प्रयोग गर्न सक्नेछन्। तर, यस्तो ऋण ब्रोकरको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ। आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र ब्रोकरहरूले मार्जिन कारोबारको लेखा परीक्षण गराई बोर्डमा प्रतिवेदन बुझाउनुपर्ने प्रावधान गरिएको छ ।










प्रतिक्रिया