काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म बैंक तथा वित्तीय संस्थाले सुन धितोमा प्रवाह गरेको कर्जा उल्लेख्य रूपमा बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार यो अवधिमा सुन धितो कर्जा ८४ अर्ब ८० करोड रुपैयाँबाट १९.१ प्रतिशतले बढेर १ खर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
छोटो समयमै सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै जाँदा नागरिक तथा व्यवसायीले सुनलाई सुरक्षित धितोका रूपमा प्रयोग गर्न थालेका हुन् । बैंकिङ प्रणालीमा अन्य क्षेत्रमा कर्जा माग सुस्त बन्दै गएको अवस्थामा सुन धितो कर्जा भने आकर्षक विकल्पका रूपमा अगाडि आएको हो ।
गत आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिसँग तुलना गर्दा चालु वर्षको सोही अवधिमा सुन धितो कर्जाको विस्तार दर अझ तीव्र देखिएको छ । गत आवको ६ महिनामा यस्तो कर्जा १४.२ प्रतिशतले बढेको थियो भने चालु आवमा त्यो दर झण्डै २० प्रतिशत नजिक पुगेको छ ।
गत आवको पुससम्मको तुलनामा चालु आवको पुससम्ममा सुनको मूल्य पनि बढेको छ । एक वर्षमै सुनको मूल्य १ लाख ५५ हजार रुपैयाँको आसपासबाट बढेर अहिले ३ लाख रुपैयाँभन्दा बढीसम्म पुगेपछि धितो मूल्य स्वतः बढेको हो ।
धितो मूल्य बढ्दा एउटै परिमाणको सुनबाट पनि बढी रकम कर्जा लिन सकिने भएकाले सुन धितो कर्जाप्रति आकर्षण बढेको देखिन्छ । विशेष गरी तत्काल नगद आवश्यक पर्ने घरायसी तथा साना व्यवसायिक प्रयोजनका लागि यो कर्जा सहज विकल्प बन्दै गएको छ ।
अघिल्ला वर्षको तथ्यांक हेर्दा सुनचाँदी धितो कर्जामा उतारचढाव देखिन्छ । २०७९ असारमा ५३ अर्ब २७ करोड रुपैयाँ रहेको सुनचाँदी धितो कर्जा २०७९ पुसमा ५४ अर्ब ९५ करोड रुपैयाँ पुगेको थियो । तर २०८० असारमा ७० अर्ब ७६ करोड रुपैयाँ पुगेको कर्जा सोही वर्षको पुससम्म आइपुग्दा २१.४ प्रतिशतले घटेर ५५ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको थियो । चालु आवमा भने सुनको मूल्यसँगै कर्जाको गति पनि फेरि तीव्र बनेको छ ।
बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा बैंकहरूले सुरक्षित र कम जोखिमयुक्त कर्जामा ध्यान दिन थालेका छन् । सुनचाँदी धितो कर्जामा क्यापिटल चार्ज नलाग्ने, जोखिम न्यून रहने र कर्जा असुली सहज हुने भएकाले बैंकहरूको प्राथमिकतामा यो कर्जा पर्दै गएको देखिन्छ ।
यसैबीच केही बैंकहरूले सुन धितो कर्जालाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेका छन् । यस्ता योजनामा बजार मूल्यको ७० देखि ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको छ भने कर्जा सीमा ५० लाख रुपैयाँसम्म तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेका बेला नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको छ । मूल्यमा साप्ताहिक उतारचढाव भए पनि दीर्घकालीन रूपमा सुन महँगिँदै जाँदा बैंक तथा ग्राहक दुवै सुरक्षित सम्पत्तिमा आधारित कर्जातर्फ आकर्षित भएका छन् ।












प्रतिक्रिया