होटल तथा पर्यटन क्षेत्रमा आईपीओको लहर : पाइपलाइनमा एक दर्जन ठूला चेन


काठमाडौँ । पछिल्लो समय सेयर बजार सस्तो ब्याजदरको पुँजी संकलन गर्ने माध्यम बनेको छ। जसले गर्दा होटल तथा पर्यटन क्षेत्रको पनि आईपीओ आउने क्रम बढ्न थालेको छ ।

सर्वसाधारणमा सेयर जारी गर्दा कम्पनीको पारदर्शिता बढ्ने र ब्रान्ड भ्यालु स्थापित हुने भएकोले पनि यो क्षेत्रको आईपीओ आवेदन बढ्न थालेको हो । गत ४ महिनाको अवधिमा मात्रै ६ वटा कम्पनीले आईपीओ जारी गर्न आवेदन दिइसकेका छन् ।

जबकी हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत कम्पनीको संख्या भने एकदमै न्यून छ । हालसम्म होटल तथा पर्यटन क्षेत्रका ७ कम्पनी मात्र सूचिकृत भएका छन् ।

होटल तथा पर्यटन क्षेत्रको पूँजी बजारमा आउने क्रम ह्वात्तै बढेको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुली बताउँछन् । ‘पर्यटन क्षेत्रका कम्पनीहरु पब्लिकमा गएर आईपीओ निष्काशन गर्ने क्रम बढिरहेको छ ’उनले भने ।

हाल ७ कम्पनी सुचिकृत भएको भएतापनि काठमाडौँ मेरियट, होटल फियर फिल्ड मेरियट, बाराही सोदी, अलप्ट होटल लगायतले पनि आईपीओ जारी गर्ने तयारी गरिरहेका छन् ।

यता, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सार्वजनिक सेयर  (आईपीओ) निष्काशनमा कडाई गर्दा होटल तथा पर्यटन क्षेत्रका दर्जन आईपीओ पाइपलाइमा नै अड्किएका छन् ।

होटल तथा पर्यटन क्षेत्रबाट सेबोनमा आवेदन दिएका १२ कम्पनीले सर्वसाधारण तथा स्थानीय बासिन्दाका लागि गरी कुल ३ करोड ६५ लाख ८१ हजार ८३० कित्ता सेयर निष्कासन गर्ने प्रस्ताव गरेका छन् । प्रस्तावित आईपीओको कुल निष्कासन रकम ३ अर्ब ६५ करोड ८१ लाख ३८ हजार रुपैयाँ बराबर रहेको छ।

सेबोनमा एपेक्स हस्पिटालिटी लिमिटेडको आईपीओ जारी प्रक्रिया दुई वर्षदेखि रोकिएको छ । कम्पनीले २०८० असार १२ गते सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता (२२ करोड ५० लाख रुपैयाँ) बराबरको आईपीओ निष्कासन अनुमति मागेको थियाे। कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । सेबोनले पुनःआवेदन तथा कम्प्लायन्स रिपोर्ट माग गरेपछि कम्पनीको आईपीओ प्रक्रिया अघि बढ्न सकेको छैन ।

त्यस्तै, अन्नपूर्ण केबलकार लिमिटेडले २०८० भदौ १६ गते स्थानीय तथा सर्वसाधारणका लागि गरी ४३ लाख ४० हजार कित्ता सेयर निष्कासन अनुमति मागेको थियाे । यसको निष्कासन रकम ४३ करोड ४० लाख रुपैयाँ रहेको छ भने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । यस कम्पनीको हकमा पनि सेबोनले पुनःआवेदन र आवश्यक कागजात मागेको छ ।

यस्तै, अकामा होटल लिमिटेडले २०८० चैत २६ गते सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता (२२ करोड ५० लाख रुपैयाँ) बराबरको आईपीओ निष्कासन अनुमति मागेको थियाे।

यता, थामेल प्लाजा होटल एन्ड सुइट्स लिमिटेड (रामाडा एन्कोर) ले २०८० साउन २१ गते २२ लाख ५० हजार कित्ता सेयर निष्कासन अनुमति मागेको थियाे । जसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। उक्त कम्पनीलाई सेबोनले पुनःआवेदन र २०८० असार ६ गतेसम्मको कम्प्लायन्स रिपोर्ट पेश गर्न निर्देशन दिएको छ ।

यता, वार्नाबास म्युजियम होटल लिमिटेडले २०८१ मंसिर १९ गते ३९ लाख ६० हजार कित्ता (३९ करोड ६० लाख रुपैयाँ) बराबरको आईपीओ निष्कासन अनुमति मागेको थियाे। यसको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड हो। कम्पनीको हकमा सेबोनले २०८२ जेठ २ गतेसम्म निष्कासन आकार बढाउन सुझाव दिएको छ ।

माउन्टेन ग्लोरी लिमिटेडले २०८१ मंसिर २६ गते ४० लाख कित्ता (४० करोड रुपैयाँ) बराबरको आईपीओ निष्कासन अनुमति मागेको थियाे। यसको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

मनकामना केबलकार लिमिटेडले २०८२ वैशाख २४ गते स्थानीय तथा सर्वसाधारणका लागि १८ लाख ७९ हजार १३० कित्ता (१८ करोड ७९ लाख १३ हजार रुपैयाँ) बराबरको आईपीओ निष्कासन अनुमति मागेको छ ।
बागर्कोट रिसोर्ट लिमिटेडले २०८२ वैशाख १५ गते १५ लाख कित्ता (१५ करोड रुपैयाँ) बराबरको आईपीओ निष्कासन अनुमति मागेको छ। जसको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

होटल सारङ्गा लिमिटेडले २०८२ वैशाख १६ गते ४७ लाख ४ हजार कित्ता (४७ करोड ४ लाख रुपैयाँ) बराबरको आईपीओ निष्कासन अनुमति मागेको हो। जसको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी, स्वर्णिम हिल्स लिमिटेडले २०८२ वैशाख १६ गते ३८ लाख कित्ता (३८ करोड रुपैयाँ) बराबरको आईपीओ निष्कासन अनुमति मागेको छ भने होटेल इच्छा लिमिटेड र अथिति रिसोर्ट एन्ड स्पा लिमिटेडले २०८२ कात्तिक २० गते क्रमशः ३५ लाख र १६ लाख २५ हजार कित्ता सेयर निष्कासन अनुमति मागेका छन् । यी कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेड रहेका छन् ।सेबोनले अधिकांश कम्पनीसँग कम्प्लायन्स रिपोर्ट, सेयर संरचना र मूल्यांकनसम्बन्धी थप विवरण माग गरेकाले अनुमति प्रक्रियामा ढिलाई भएको सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बताए । ‘कम्पनीहरुले कम्प्लायन्स रिपोर्ट पठाउन ढिला गर्दा आईपीओ निष्काशनमा अवरोध भएको हो’ श्रेष्ठले भने ।

हाइड्रोपावर तथा ऊर्जा कम्पनीहरू कुल १६ करोड १ लाख ७१ हजार ९०४ कित्ता सेयर निष्कासनको तयारीमा रहेका छन्, जसको कुल निष्कासन रकम करिब १६ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाले सेबोनले वर्षैदेखि अनुमती पर्खिरहेका कम्पनीलाई निष्काशन अनुमति नदिँदा कम्पनीहरू समस्यामा परेको बताए ।

समयमा आइपिओ निष्कासन गर्न नपाउँदा बैंक लोन, लगानी बढ्दै गएको उनी बताउँछन् । बोर्डको आन्तरिक समस्याले हाइड्रोपावर क्षेत्रलाई असर गरेको उनको तर्क छ ।

सूचीमा रहेका अधिकांश कम्पनीहरू हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित छन् । बेनी हाइड्रोपावर प्रोजेक्ट, याम्दी खोला हाइड्रोपावर, कालंगा हाइड्रो, सानिगढी हाइड्रो, अपर मकालु हाइड्रोपावर, सिउरी न्यादी पावर, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट, पुवाखोला–वन हाइड्रोपावर, निलगिरी खोला हाइड्रोपावर, हिम पार्वत हाइड्रोपावर, युनाइटेड मेवा खोला हाइड्रोपावरलगायत दर्जनौं कम्पनीहरू आईपीओ निष्कासनको चरणमा छन् ।

हाइड्रोपावर क्षेत्रका कम्पनीहरूको आईपीओ पाइपलाइनमा ठूलो संख्यामा सेयर निष्कासन हुने गरेको छ ।

 

सेबोनको पाइपलाइनान सबैभन्दा धेरै कित्ता जारी गर्ने कम्पनीको सूचीमा सिउरी न्यादी पावर लिमिटेड अग्रस्थानमा रहेको छ। कम्पनीले ३ करोड ३६ लाख ७८४ कित्ता सेयर निष्कासन गर्दैछ, जसको कुल रकम ३ अर्ब ३ करोड ६ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

यस्तै, युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले १ करोड २३ लाख कित्ता सेयर जारी गर्दैछ, जसको कुल निष्कासन रकम १ अर्ब २३ करोड रुपैयाँ रहेको छ। यस्तै, सानिगढी हाइड्रो लिमिटेडले ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ। यसको कुल रकम ८५ करोड ५० लाख रुपैयाँ रहेको छ।

भिजन इनर्जी एण्ड पावर लिमिटेड रहेको छ। कम्पनीले ८३ लाख कित्ता सेयर निष्कासन गर्नेछ, जसको कुल रकम ८३ करोड रुपैयाँ बराबर छ। कालंगा हाइड्रो लिमिटेड परेको छ। कम्पनीले ४९ लाख कित्ता सेयर जारी गर्दैछ, जसबाट ४९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।

उत्पादन तथा प्रसोधन क्षेत्रका २५ कम्पनी पाइपलाइमा

उत्पादन तथा प्रसोधन क्षेत्रका ३१ अर्ब २७ करोड ३७ लाख ९१ हजार रुपैयाँ बराबरको १५ करोड ४१ लाख ६८ हजार ५२२ कित्ता सेयर पाइपलाइनमा छन् ।

सेबोनको पाइपलाइमा २५ कम्पनीको आईपीओ अड्किएको हो । जसमध्ये जगदम्बा स्टिल्स लिमिटेडले २ करोड ७० हजार कित्ता सेयर निष्काशनको अनुमति दिएको छ । कम्पनीले ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको उक्त सेयर निष्काशनको अनुमति मागेको हो ।

मारुती सिमेन्ट लिमिटेडले १ करोड १६ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ भने सौर्य सिमेन्ट इन्डस्ट्रिजले १ करोड ५९ लाख ८१ हजार ५०० कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।

यसैगरी, अम्बे स्टिल्स लिमिटेड र ऋद्धिसिद्धि सिमेन्ट लिमिटेडले क्रमशः १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता र १ करोड २१ लाख ७१ हजार ५०० कित्ता निष्काशन गर्न लागेको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार  ०९ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।