काठमाडौँ । सुरुका वर्षहरुमा आकर्षण बनेको सहुलियत कर्जाको माग घट्न थालेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले ६ महिनाको अवधिमा ५८ अर्बभन्दा बढी ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा लगानी गरेका छन् ।
चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ६ महिनामा ७४ लाख ७९० जना ऋणीलाई ५८ अर्ब २४ करोड ५ लाख रुपैयाँ सहुलियतपुर्ण कर्जा स्वीकृत भएको बैंकले जनाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष ऋण लिने ऋणी र ऋण रकम दुवै घटेको छ । गत वर्ष सोही अवधीमा ९४ हजार ९२० जना ऋणीले ७८ अर्ब ६६ करोड २ लाख रुपैयाँ ऋण लिएका थिए । त्यस्तै, अघिल्लो आवको सोही अवधीमा एक लाख २० हजार २७४ जना ऋणीहरुले एक खर्ब २६ अर्ब ८१ करोड ९ लाख रुपैयाँ ऋण लिएका थिए ।
नेपाल सरकारले २०७५ मा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गर्दै राष्ट्र बैंकमार्फत विभिन्न सात शीर्षकमा ब्याज अनुदानसहित सहुलितपूर्ण कर्जा लगानी गर्दै आएको थियो ।
तीन शीर्षक थप भई हाल १० शीर्षकमा सहुलियतपूर्ण कर्जा लगानी हुँदै आएको छ । जसमध्ये महिला उद्यमशील कर्जामा ६ प्रतिशत र त्यसबाहेक नौ शीर्षकमा पाँच प्रतिशत ब्याज अनुदान सरकारले दिँदै आएको छ ।
दश शीर्षकमध्ये सबैभन्दा धेरै कर्जा व्यावसायिक कृषि तथा पशुपंक्षी शीर्षकमा गएको छ । उक्त शीर्षकमा २८ हजार ८११ जना ऋणीलाई ४४ अर्ब ६४ करोड ऋण लगानी भएको छ । गत वर्ष ३५ हजार ऋणीहरुले ५७ अर्ब ५४ करोड ऋण लिएका थिए । व्यावसायिक कृषि तथा पशुपंक्षी शीर्षकमा धितोसहित विनाधितो कर्जा लगानी हुने गरेको छ ।
कृषिपछि महिला उद्यमशीलता कर्जामा धेरै लगानी भएको छ । महिला उद्यमशील कर्जा शीर्षकमा ४५ हजार ऋणीले १२ अर्ब ८५ करोड कर्जा स्वीकृत भएको छ । गत वर्ष सो शीर्षकमा ५७ हजार ऋणीहरुले २० अर्ब ९ करोड रुपैयाँ ऋण लिएका थिए ।
यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा ८८ जना ऋणीले एक करोड एक लाख रुपैयाँ ऋण लिएका छन् । विदेशबाट फर्केका युवा परियोजना शीर्षकमा ३०३ जना ऋणीले ५ करोड २ लाख रुपैयाँ ऋण लिएको तथ्यांकमा उल्लेख गरिएको छ ।
दलित समुदाय व्यवसाय विकास शीर्षकमा ४३३ जना ऋणीहरुले १० करोड १ लाख कर्जा स्वीकृत भएको छ । उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा शीर्षकमा ४९ जना ऋणीहरुले ६ लाख रुपैयाँ कर्जा लिएका छन् ।
भूकम्पपीडितहरूको निजी आवास निर्माण शीर्षकमा ९ जना ऋणीले २९ हजार कर्जा लिएका छन् । उक्त शीर्षकको सहुलियतपूर्ण कर्जा बन्द भइसकेको छ ।
कपडा उद्योग सञ्चालन गर्न दिने कर्जा ७७ ऋणीहरुले ५८ करोड २ लाख कर्जा स्वीकृत भएको छ । प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिमका लागि एक जनाले ऋण लिएका छन् ।
सुरुमा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले मात्रै ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा लगानी गर्ने गरेकोमा हाल लघुवित्त संस्थामार्फत पनि लगानी हुँदै आएको छ ।
पछिल्लो समय फार्म सञ्चालन मार्फत ऋण कारोबार गरी सहुलियत कर्जाको फाइदा लिए पनि सम्झौता अनुसार व्यवसायमा नभई अन्य क्षेत्रमा लगानी गरेका कारण पनि बैंक तथा वित्तिय संस्थाले ऋणीलाई कडाई गर्दै आएकोले सहुलियत कर्जा लिने ऋणीहरु घट्दै गएको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) देवेन्द्र खनाल बताउँछन् । ‘एउटा कामको लागि भनेर ऋण लिने र सो अनुसार कार्य नगर्दा बैंकहरुले ऋण दिन कडाई गर्दा ऋणीहरु घटे र लगानी रकम पनि घट्यो’ उनले भने ।
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२ मार्फत अब सरकारले ३ प्रतिशत मात्र ब्याज अनुदान दिने भएको छ । नयाँ कार्यविधिसँगै २०७५ सालमा जारी पुरानो कार्यविधि खारेज भएको छ । नयाँ कार्यविधि लागु भएपछि भने ऋणीहरु पनि बढ्ने उनले बताए ।
अधिकांशले सहुलियतपूर्ण कर्जा उत्पादनशील क्षेत्रमा लगानी नगरी अन्य क्षेत्रमा लगानी गर्ने हुँदा बैंक तथा वित्तीय संस्थाहरुले ऋण दिन कम गरेका कारण पनि ऋणीहरु घटेको राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले बताए । यसरी सहुलियत कर्जा घट्नुको मुख्य कारण नै अधिकांश ऋण सदुपयोग नहुनु भएको उनको भनाइ छ ।
उनका अनुसार वि.सं. २०७५ सालदेखि ब्याज अनुदानसहित सहुलियत कर्जा लागु भएको हो । सुरुमा यो कार्यविधि अनुसार ऋणीले ५ वर्षसम्म ऋण तिर्न पाउने गरी योजना सञ्चालनमा आएको हो । हाल उक्त कार्यविधि संशोधन भई ३ वर्षसम्म ऋण तिर्नुपर्ने हुँदा पनि ऋणी घटेका हुन् ।










प्रतिक्रिया