एनपीएलको चापले बैंकहरूमा थुप्रिँदै गैरबैंकिङ सम्पत्ति


काठमाडौं । बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा (एनपीएल) बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर गैरबैंकिङ सम्पत्ति (एनपीए) मा देखिन थालेको छ। कर्जा असुली हुन नसक्दा धितोका घरजग्गा, उद्योग–व्यवसाय वा अन्य सम्पत्ति बैंकहरूले आफ्नो नाममा ल्याउनुपर्ने अवस्था बढेको छ, जसका कारण बैंकहरू ‘बैंकिङ’ भन्दा ‘सम्पत्ति व्यवस्थापन’तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बाध्यतामा छन् ।

विगतमा केन्द्रीय बैंकले नीतिहरू ल्याउँदा त्रुटीपूर्ण ल्याएको र बैंकहरू पनि जिम्मेवार नबन्दा अहिले गैरबैंकिङ सम्पत्ति बढ्न पुगेको जानकारहरू बताउँछन् । कोरोना महामारीपछिको लचक नीतिलाई बैंकहरूले व्यापक दुरुपयोग गरेकाले समस्या आएको कतिपयको बुझाइ छ । यसबाहेक अर्थतन्त्रको सुस्तताका कारण पनि अहिले बैंकहरूलाई समस्या भएको । अहिले ठूला ऋणीहरूका कारण गैरबैंकिङ सम्पत्ति बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुससम्म बैंकिङ क्षेत्रको औसत निष्क्रिय कर्जा ५।४२ प्रतिशत पुगेको छ। यही अवधिमा कुल गैरबैंकिङ सम्पत्ति ५१ अर्ब २८ करोड ५० लाख रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिको ४० अर्ब ७५ करोड ६० लाख रुपैयाँको तुलनामा १० अर्ब ५२ करोड ९० लाखले बढी हो । गत वर्ष यही समयमा औसत एनपीएल ४।९२ प्रतिशत थियो। अर्थात् एनपीएल ५।५० प्रतिशतले बढ्दा गैरबैंकिङ सम्पत्तिमा १० अर्बभन्दा बढीको वृद्धि भएको देखिन्छ।

वाणिज्य बैंकहरूमा मात्र पुस मसान्तसम्म औसत एनपीएल ५।२६ प्रतिशत पुगेको छ। यससँगै एनपीए ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा एनपीएल ४।७३ प्रतिशत हुँदा एनपीए ३४ अर्ब ८६ करोड ६० लाख रुपैयाँ थियो। एक वर्षमा एनपीएल ०।५३ प्रतिशतले बढ्दा एनपीए ८ अर्ब ७१ करोड रुपैयाँले बढेको देखिन्छ।

कर्जा गुणस्तरमा सानो प्रतिशतको गिरावटले पनि बैंकहरूमा थुप्रिने गैरबैंकिङ सम्पत्तिमा ठूलो प्रभाव पारिरहेको छ। धितो लिलाम प्रक्रिया ढिलो हुनु, बजारमा रियल इस्टेट कारोबार सुस्त हुनु तथा व्यवसायिक पुनरुत्थान नहुनु यसका मुख्य कारणका रूपमा देखिन्छन्।

सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूमा औसत एनपीएल ५।७५ प्रतिशत पुगेको छ। यस अवधिमा एनपीए ४ अर्ब ३५ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा एनपीएल ५।११ प्रतिशत र एनपीए ३ अर्ब ६० करोड २० लाख रुपैयाँ थियो। एनपीएल ०।६४ प्रतिशतले बढ्दा एनपीए ९७ करोड २० लाख रुपैयाँले बढेको तथ्यांकले देखाउँछ।

विकास बैंकहरू क्षेत्रीय तथा साना–मझौला व्यवसायमा बढी केन्द्रित हुने भएकाले आर्थिक सुस्तताले उनीहरूलाई तुलनात्मक रूपमा बढी असर पारेको देखिन्छ।

१७ वटा फाइनान्स कम्पनीहरूमा औसत एनपीएल ११।८६ प्रतिशत पुगेको छ। पुस मसान्तसम्म एनपीए ३ अर्ब १३ करोड ५० लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा एनपीएल १२।८५ प्रतिशत थियो भने एनपीए २ अर्ब २८ करोड ८० लाख रुपैयाँ थियो।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार  ०८ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।