काठमाडौँ । सेयरबजार परिसूचक नेप्सेमा उत्साह छाएको छ । साताको पहिलो दिन आइतबार नेप्से ५४.५१ विन्दुले बढेर २९३१.५५ विन्दुमा कायम भएको छ । नेप्सेको यो उचाइ सात महिना उताकै उच्च विन्दु हो । यस अघि गत साउन १४ गते नेप्से परिसूचक २९५४.१४ विन्दुमा बन्द भएको थियो ।
आज विभिन्न ३६४ कम्पनीका छ करोड १४ लाख सात हजार ७४ कित्ता शेयर दुई लाख चार हजार ९५५ पटक खरिदबिक्री हुँदा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा व्यापार समूह ०.११ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लघुवित्त समूह ४.२१ प्रतिशतले बढेको छ । बैंकिङ २.४९, विकास बैंक २.४६, वित्त २.१३, होटल तथा पर्यटन ३.०५ र जलविद्युत् समूह ०.५५ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी ०.७७, जीवन बीमा दुई, उत्पादन तथा प्रशोधन १.९३, म्युचुअल फन्ड १.२४ र निर्जीवन बीमा समूह २.७२ प्रतिशतले बढेको छ ।
राजनीतिक स्थिरताका आशाः निर्वाचनपछिको ९ कारोबार दिनमा २१९ अंकले बढ्यो नेप्से
नेप्सेका अनुसार छ वटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सलपा विकास बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने एनआईसी एसिया ब्यालेन्स फन्डको शेयर मूल्य ५.७१ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको ८५ करोड ९६ लाख १५ हजार ६८३ रुपैयाँ बराबरको ३५ लाख ४६ हजार ८५३ कित्ता शेयर खरिदबिक्री भएको छ ।












प्रतिक्रिया