राजनीतिक स्थिरताका आशाः निर्वाचनपछिको ९ कारोबार दिनमा २१९ अंकले बढ्यो नेप्से


काठमाडौँ । राजनीतिक स्थिरता र युवा नेतृत्वप्रतिको आशाले सेयर बजारमा उत्साह ल्याएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र त्यसको परिणामले लगानीकर्ताहरूमा उत्साह थपेको छ ।

निर्वाचनपछिका ९ कारोबार दिनमा नेप्से परिसूचकमा २१९ अंकभन्दा बढीको वृद्धि भएको छ । निर्वाचन हुनुभन्दा अघिको अन्तिम कारोबार दिन, अर्थात् फागुन १९ गते नेप्से परिसूचक २७१२.४९ विन्दुमा बन्द भएको थियो । निर्वाचनको नतिजा सार्वजनिक भई नयाँ राजनीतिक शक्ति उदय भएसँगै बजारले उकालो यात्रा तय गरेको हो ।

आइतबार (आज) नेप्से परिसुचक २९३१.५५ विन्दुमा पुगेको छ । यो विगत सात महिना यताकै उच्च विन्दु हो । यसअघि गत साउन १४ गते नेप्से २९५४ विन्दुमा पुगेको थियो । यसले समग्र लगानीकर्ताको मनोबल बढाएको संकेत गर्छ ।

बजारमा देखिएको यो उछालको मुख्य कारण रास्वपाले पाएको दुई तिहाइ मत र अब बन्ने बहुमत र स्थिर सरकारको सुनिश्चिततालाई मानिएको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट प्राप्त गरेपछि लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास लगानीकर्तामा पलाएको हो । यही चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री बन्ने भएपछि लगानीकर्ताहरूले त्यसलाई आर्थिक स्थायीत्वका रूपमा बुझेका छन् ।

लामो समयदेखि नीतिगत अन्यौलता र अस्थिर सरकारका कारण निराश बनेका लगानीकर्ताहरू अब बन्ने नयाँ सरकारले पुँजी बजारमैत्री नीतिहरू ल्याउने र देशको अर्थतन्त्रलाई सही मार्गमा डो¥याउनेमा विश्वस्त देखिएका छन् । युवा नेतृत्वले अर्थतन्त्रका अवरोधहरू हटाउने आशाका कारण नै बजारमा खरिद चाप उल्लेख्य रूपमा बढेको जानकारहरू बताउँछन् ।

सस्तो ब्याजदरले सुस्तता चिर्न नसकेको सेयर बजार : नीतिले उचालेको २०८१, राजनीतिले थिचेको २०८२

सेयर बजारका जानकार छोटेलाल रौनियारका अनुसार लगानीकर्ताहरू लामो समयदेखि स्थिर राजनीतिक वातावरणको पर्खाइमा थिए । “रास्वपाका झण्डै दुई तिहाइको सरकार आउँछ भन्ने कसैले सोचेका थिएनन् । यो लगानीकर्ताका लागि निकै सुखद् कुरा हो,” रौनियारले भने, “यसले लगानीकर्ताको मनोविज्ञानमा ठूलो उत्साह भरेको छ । अब बजार घट्ने कुनै कारण देखिँदैन ।”

पछिल्लो समय अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकहरू सकारात्मक भए पनि राजनीतिक अस्थिरताले बजारलाई निराश बनाईरहेको अवस्थामा आएको स्थिर सरकारले खुसी ल्याएको उनी बताउँछन् । “अहिले बैंकको ब्याजदर ७ प्रतिशतको हाराहारीमा छ, बजारमा पर्याप्त तरलता छ, विदेशी मुद्रा सञ्चिति ऐतिहासिक छ र मुद्रास्फीति पनि न्यून छ,” उनले भने, “यस्तो बेला स्थिर सरकार आउँदा बजार उकालो लाग्नु स्वभाविक हो ।”

रास्वपाको घोषणापत्र र नीतिगत स्थिरताको आशा

सेयर बजारमा उत्साह, नेप्से सात महिना यताकै उच्च विन्दुमा

स्टक ब्रोकर एशोसिएशनका पूर्व अध्यक्ष भरत रानाभाट पनि बजारको यो उछाललाई स्थिरताको स्वागत मान्नुपर्ने बताउँछन् । विशेष गरी रास्वपाले आफ्नो चुनावी घोषणापत्रमा सेयर बजारलाई प्राथमिकतामा राखेकाले लगानीकर्ता थप विश्वस्त भएको उनको बुझाइ छ ।

“सबै पार्टीका घोषणापत्रमा बजारको कुरा थियो, तर रास्वपाले दीर्घकालीन सुधारका योजनासहित विशेष स्थान दिएको थियो,” रानाभाटले भने, “अब बहुमतको सरकार बनेपछि कम्तीमा ५ वर्षसम्म नीतिगत स्थिरता रहने र बारम्बार अर्थमन्त्री र बजारका नीति फेरिने क्रम रोकिने आशामा लगानीकर्ताहरू उत्साहित भएका हुन् ।”

कुल बजार पूँजीकरणको तथ्यांक हेर्दा पनि लगानीकर्ताहरूको सम्पत्तिको आकार फराकिलो अन्तरले बढेको देखिन्छ । चैत ८ गतेसम्म आइपुग्दा बजारको कुल पूँजीकरण ४९ खर्ब ६८ अर्ब ५९ करोड ७ लाख ७३ हजार रुपैयाँ कायम भएको छ । गत बिहीबार यो आँकडा ४८ खर्ब ७६ अर्ब १९ करोड २९ लाख ४० हजार रुपैयाँ थियो । एक कारोबार दिनमा बजार ५४ अंकले बढ्दा लगानीकर्ताको सम्पत्ती झण्डै ९२ अर्ब रुपैयाँले बढेको हो ।

निर्वाचनभन्दा अघिको तुलनामा समग्र बजार पूँजीकरण झण्डै ४ खर्बभन्दा बढीले वृद्धि भएको हो । निर्वाचन अघिको कारोबार दिन बजार पूँजीकरण ४५ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।

बजार पूँजीकरणसँगै कारोबार रकममा पनि वृद्धि हुँदै गएको छ । निर्वाचन अघिको अन्तिम कारोबार दिनमा ६ अर्ब रुपैयाँको कारोबार भएको बजारमा चैत ५ गते एकैदिन २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८ सय ८६ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । आइतबार २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयरहरू २ लाख ४ हजार ९५५ पटक किनबेच भएका छन् । कारोबार रकम पनि सात महिना यताकै उच्च हो । यसअघि गत साउन ११ गते २७ अर्ब ५८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

समुहगत परिसूचकहरूको तथ्यांक हेर्दा आइतबार सबैजसो समूहमा हरियाली छाएको छ । बैंकिङ समूह १५६०.९२ विन्दुमा पुगेको छ । फागुनको अन्तिम सातातिर १५०० विन्दुभन्दा तल रहेको यो समूहमा आएको सुधारले समग्र बजारलाई नै माथि उठाउन मद्दत गरेको छ । त्यस्तै विकास बैंक समूह निर्वाचन अघि ५७९०.३९ विन्दुमा रहेकोमा आइतबार ६४६८.७० विन्दुमा पुगेको छ । यो समूहमा पनि लगानीकर्ताहरूको आकर्षण बढ्दो क्रममा देखिएको छ । जलविद्युत समूह ३५७६.९५ विन्दुबाट बढेर ३९१९.५६ विन्दुमा पुगेको छ ।

बीमा क्षेत्रमा पनि उत्साह देखिएको छ । जीवन बीमा समूहको परिसूचक १३,६६० बाट बढेर १३,९१६.१५ विन्दुमा पुगेको छ भने निर्जीवन बीमा समूह ११,९९६ विन्दुमा छ । यी दुवै समूहमा निर्वाचनपछिको अवधिमा उल्लेख्य सुधार आएको छ ।

त्यस्तै उत्पादन तथा प्रशोधन समूह १०,०७८.८७ विन्दुमा पुगेको छ ।

होटल तथा पर्यटन क्षेत्रमा पनि लगानीकर्ताहरूको आकर्षण देखिएको छ । यो परिसूचक ७७८३.७२ विन्दुमा पुगेको छ । निर्वाचन अघि यो समूह ७३७०.१५ विन्दुमा थियो । पर्यटन क्षेत्रले नयाँ सरकारबाट पाउने प्राथमिकताको आशाले यो समूहका सेयर मूल्यमा तीव्र वृद्धि भएको हो ।

वित्त समूह २५३४.७२ विन्दुबाट २६८५.८३ विन्दुमा पुगेको छ भने लघुवित्त समूह ५२८९.९४ विन्दुमा छ । फागुन १९ गतेको तुलनामा लघुवित्त समूहमा पनि उल्लेख्य सुधार आएको देखिन्छ ।

लगानी समूहको परिसूचक ११२.२९ विन्दुमा पुगेको छ भने व्यापार समूह ३८१२.२७ विन्दुमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार  १७ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।