सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट


काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सामान्य अंकले बढेको छ । । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार कुल ३४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयरहरु १ लाख ५६ हजार ३८१ पटक किनबेच हुँदा १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ अंकमा पुग्दा कारोबार रकम २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँमा पुगेको थियो ।

सोमबारको कारोबारमा १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको सेयर मूल्य घट्दा ८ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सोमबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रो पावर र मनकामना इनर्जीङ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा सनराइज फ्रस्ट म्यूचुअल फण्ड पहिलो स्थानमा रहेको छ । सोमबार सनराइज फ्रस्ट म्यूचुअल फण्डको सेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा कुमारी धनवृद्धि योजना, सिन्धु विकास बैंक, सिटिजन्स सन्तुलित योजना र स्वस्तिक लघुवित्त रहेका छन् ।

सोमबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा कुमारी बैंक रहेको छ । कुमारी बैंकको ६७ करोड २३ लाख ७८ हजार रुपैयाँको सेयर किनबेच हुँदा शिभम् सिमेन्टको ६० करोड ६४ लाख ८६ हजार रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेश्नलल हाइड्रोपावर रहेको छ भने चौथो स्थानमा एनआरएन इन्फ्राइस्टक्चर र पाँचौ स्थानमा ङादी ग्रुप पावर रहेको छ ।

सोमबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । आइतबार ४९ खर्ब ६८ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण सोमबार ४९ खर्ब ७७ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ९ अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार  १५ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।