मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटनमा


चितवन । मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा देखिएको छ । हवाई यात्रा महँगो र असुरक्षित भएपछि नेपाल घुम्न आउन लागेका धेरै पर्यटकले यात्रा रद्द गरेका छन् ।

भारत, चीन र अष्ट्रेलियाबाहेकका देशबाट यहाँको सौराहा क्षेत्रमा घुम्न आउने पर्यटकले यात्रा रद्द गरेको व्यवसायीहरू बताउँछन् । विगतका वर्षमा यतिबेला सौराहाका होटलहरू ८० प्रतिशत हाराहारी भरिने गरेको व्यवसायी बताउँछन् । उनीहरूको भनाइमा यस वर्ष यतिबेला २० प्रतिशत हाराहारी मात्र पर्यटक आएका छन् । निर्वाचनका कारण १५ दिन प्रभावित बनेको सौराहाको पर्यटन क्षेत्रमा त्यसलगत्तै मध्यपूर्वको द्वन्द्वको प्रभाव परेको हो ।

सौराहामा १४८ वटा होटल छन् । जहाँ ७ हजार २०० पर्यटक अट्ने क्षमता छ । यस क्षेत्रमा प्रत्यक्ष रुपमा ६ हजार ४०० ले रोजगारी पाएका छन् । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायीक वनमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीलगायतका दुर्लभ वन, वन्यजन्तु र चराचुरुङ्गी हेर्न यहाँ स्वदेशी र विदेशी पर्यटकहरू आउने गर्दछन् ।

यसका अतिरिक्त सौराहामा थारू संस्कृति पनि पर्यटकका लागि रुचिकर बन्दछन् । यसका साथै नेपालका विभिन्न सङ्घसंस्थाले पनि सौराहामा कार्यक्रम गर्न आउँदछन् भने भारतीयहरू विवाहका लागि पनि सौराहा आउने गर्दछन् । द्वन्द्वले सबैतिर प्रभाव पार्दा अन्य क्षेत्रसँगै यहाँको पर्यटन क्षेत्र पनि प्रभावित बनेको हो ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार  १६ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।