फस्टाउँदो अनलाइन व्यापार : फेरिँदै नेपाली समाजको जीवनशैली

online business

काठमाडौँ । पछिल्लो समय नेपाली समाजमा परम्परागत रुपमा चल्दै आएको कारोबार र किनमेलमा परिवर्तन आएको छ ।

सुचना र प्रविधिको विकाससँगै डिजिटल युगको सुरुवातले मानिसहरूको दैनिकी सहज बनाउनुका साथै व्यापार गर्ने तरिकामा पनि परिवर्तन ल्याएको हो ।

भौतिक व्यापारभन्दा अनलाइन व्यापार (डिजिटल बिजनेस) तीब्र रुपमा विस्तार हुँदै गएको छ । दैनिक उपभोग्य वस्तु (खाना, खाजालगायत) देखि, लत्ताकपडा, घरायसी सामान लगायतका वस्तु तथा सेवाको खरिदबिक्री अनलाइनबाटै हुने प्रवृत्ति बढ्दो छ ।

पछिल्लो समय विशेषगरी टिकटक, फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा विज्ञापन देखेर अनलाइनबाटै सामान खरिद गर्नेको संख्या बढिरहेको छ । नयाँ बानेश्वर बस्ने प्रमिला खड्का आफुलाई आवश्यक पर्ने कपडा, जुत्तालगायत धेरै सामान अनलाइनबाटै खरिद गर्ने गरेको बताउँछिन् ।

‘विभिन्न ब्रान्डका जुत्ता, कपडा, घडी लगायतका सामान अनलाइनबाटै मगाउन सहज लाग्छ, बजार जाने समयको पनि बचत हुन्छ,’ उनी भन्छिन् ।

विशेषगरी कोरोना महामारीपछि अनलाइन व्यापार बढ्दै गएको हो । पैसा बोकेर पसल चहार्दै हिँड्ने ठूलो जमात पछिल्लो समय अनलाइन सपिङमा रमाउन थालेको छ । यसले व्यापारको तौरतरिकामा नै परिवर्तन ल्याएको छ । कतिपयले घरबाटै पनि व्यवसाय चलाइरहेका छन् भने सस्तो भाडा हुने ठाउँमा पनि राम्रो व्यापार गरिरहेका छन् ।

गौशला बस्दै आएकी सूचना भण्डारीको औपचारिक पसल छैन, तर उनी घरमै बसेर अनलाइनबाटै कुर्तासुरुवाल तथा अन्य लेडिज कपडाको व्यापार गर्छिन् । फेसबुक, टिकटक र इन्स्टाग्राम मार्फत ग्राहकलाई सामान बेच्दै आएको उनले बताइन् ।
देशभित्र मात्रै होइन कुरियर सेवा प्रदायकबाट थोक बिक्रेतामार्फत ल्याइएको उनका सामान विदेशसम्म पनि पुग्छन् । ‘दुई वर्ष भयो व्यापार शुरु गरेको, पहिला फेसबुकमा सामानहरु राख्ने, अनि मागअनुसार होलसेलबाट ल्याएर रेडी गरेर पु¥याइदिन्छौँ,’ उनी भन्छिन् ।

शान्तिनगर स्थित ‘फेसन वेयर’ की सञ्चालक ममता श्रेष्ठ आफ्नो व्यापार सामाजिक सञ्जालले फस्टाएको बताउँछिन् । कोरोनापछि टिकटकबाट उदाएको उनको व्यापारको मुख्य आधार अहिले सामाजिक सञ्जाल नै बनेको छ । ‘पछिल्लो समय धेरैले अनलाइन नै रोज्छन् । कहिलेकाहीँ विषम परिस्थितिमा पसलबाट मात्रै व्यापार खासै चल्दैन, त्यस्तो बेला अनलाइनकै व्यापारले भाडा तिर्न पुग्छ,’ उनी भन्छिन् ।

‘अनलाइन व्यापार र डिजिटल भुक्तानी प्रविधि आएकोले नै व्यापार गर्न सहज भएको छ ।’ उनले भनिन्, ‘रकम आफ्नो खातामा आउने भएपछि सामान पठाउन पनि कुनै समस्या नै हुँदैन ।’

उनका अनुसार, पसलमा हुने व्यापार त विवाहको सिजनमा मात्रै हुन्छ तर अन्य समयमा भने विदेशबाट धेरै अडर आउने गरेको छ । ‘उनीहरुले अडर गरे अनुसारको सामान पठाउने हो । आफूले राम्रो सामान पठाएपछि उनीहरुले पनि विश्वास गरेर अडर गरिरहन्छन्,’ उनले भनिन् ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार  ११ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।