वीरगञ्ज भन्सारद्वारा ९ महिनामा १ खर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन


पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आवको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १६ अर्ब २० करोड अर्थात् १० प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सार कार्यालयले चालु आवको ९ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन गरेको बताए । भन्सार विभागले कार्यालयका लागि चालु आवको ९ महिनामा भने १ खर्ब ९९ अर्ब ३४ करोड लक्ष्य निर्धारण गरेको थियो ।

वीरगञ्ज भन्सारले चालु आवको साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

त्यस्तै पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड र चैतमा २२ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर, चालु आवको ९ महिनामा कूल वार्षिक लक्ष्यको ६५ प्रतिशत मात्रै राजस्व सङ्कलन हुन सकेको छ । चालु आवको तीन महिना अझै बाँकी रहेकाले पनि थप राजस्व सङ्कलन हुने सम्भावना भने कायमै छ ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार  ०७ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।