निजी क्षेत्रको मनोबल र लगानीको वातावरण सम्बन्धमा नाडाको धारणा

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको व्यवसायिक हकहित र सुरक्षाप्रति सधैं प्रतिबद्ध छ। हालैका घटनाक्रम र पूर्व अध्यक्ष शेखर गोल्छाका सम्बन्धमा बाहिर आएका विषयहरू प्रति नाडा आफ्नो गम्भीर चासो र ध्यानाकर्षण प्रकट गर्दछ।

शेखर गोल्छा नेपालको औद्योगिक एवं व्यवसायिक जगतका एक सम्मानित व्यक्तित्व हुन्। उनले नाडाको पनि सफल नेतृत्व मात्र गरेका छन्। उनले समग्र निजी क्षेत्रलाई नयाँ दिशा दिन र मुलुकको आर्थिक विकासमा अतुलनीय योगदान पु‍र्याएका छन्। यस्तो गरिमामय इतिहास बोकेको र देशकै ठूलो औद्योगिक घरानाको नेतृत्व गरिरहेको व्यक्तित्व माथि गरिने कुनै पनि अन्यायपूर्ण व्यवहारले समग्र उद्योगी व्यवसायीहरूमा नकारात्मक सन्देश जाने नाडाको ठम्याइ छ।

सत्यतथ्य छानबिन हुनुपर्छ भन्ने कुरामा नाडा पूर्ण विश्वास राख्दछ। राज्यले गर्ने अनुसन्धान प्रक्रियामा निजी क्षेत्रले सधैं सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि गर्नेछ। यद्यपि, अनुसन्धानका नाममा व्यवसायीहरूलाई हठात् पक्राउ गर्ने वा थुनामा राख्ने कार्यले लगानीकर्ताहरूको आत्मविश्वासलाई खलल पु‍र्याउँछ।

निजी क्षेत्रलाई उत्साहित बनाउँदै लगानी गर्नुपर्ने समयमा प्रतिष्ठित व्यवसायीहरूमाथि हुने धरपकडले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूमा त्रासको वातावरण सिर्जना गर्नेछ। यसले सरकारले अघि सारेको “लगानी मैत्री नेपाल” को नारालाई समेत कमजोर बनाउने देखिन्छ।

अतः नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, नेपाल सरकार र सम्बन्धित निकाय समक्ष श्री शेखर गोल्छाज्यूको हकमा ‘पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन’ विनम्र अनुरोध गर्दछ। दोषी प्रमाणित नभएसम्म उनी जस्तो प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यवसायिक प्रतिष्ठाको रक्षा गर्नु राज्यको पनि दायित्व हो। अनुसन्धानमा उहाँले पूर्ण सहयोग गर्नेमा समेत हामी विश्वस्त छौँ।

निजी क्षेत्रलाई सुरक्षित र सम्मानित महसुस गराउँदै मुलुकको आर्थिक समृद्धिको यात्रामा हातेमालो गर्न नाडा नेपाल सरकारसँग जोडदार माग गर्दछ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार  १६ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।