उधारोमा सेयर किन्न नपाइने, २५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्ने


काठमाडौँ । अब उधारोमा सेयर किन्न नपाइने भएको छ ।

पछिल्लो समय कतिपय ब्रोकरहरूले लगानीकर्ताको वास्तविक कोल्याक्ट्रल रकमभन्दा धेरै गुणा बढीको खरिदबिक्री आदेश प्रविष्ट गर्न दिने र बजारमा माग उच्च देखाउनका लागि अस्थायी खरिद आदेश प्रविष्ट गरे पछि रद्द गर्ने जस्ता गतिविधि गरेको पाइएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले उधारोमा सेयर कारोबार नगर्ने निर्देशन दिएको हो ।

धितोपत्र बजारमा हुने अस्वाभाविक उतारचढाव र कृत्रिम डिमान्डलाई नियन्त्रण गर्न खरिदबिक्री आदेश प्रविष्ट गर्ने सीमा कार्यान्वयनमा कडाइ गरेको जारी सूचनामा उल्लेख छ ।

बुधबार धितोपत्र कारोबार सदस्यका लागि एक सूचना जारी गर्दै नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को व्यवस्थालाई पूर्ण रूपमा पालना गर्न भनेको छ ।

यस्तै, अबदेखि ब्रोकरहरूले लगानीकर्ताबाट खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम अनिवार्य रूपमा अग्रिम लिनुपर्ने व्यवस्थालाई पनि अनिवार्य कार्यान्वयन गरिने भएको छ ।

धितोपत्र कारोबार सञ्चालन विनियमावलीको विनियम ८ (१) मा भएको यो व्यवस्थालाई कडाइका साथ लागू गर्न भन्दै नेप्सेले लगानीकर्ताको कोल्याक्ट्रल सीमाभन्दा बढी रकमको खरिद वा बिक्री आदेश प्रविष्ट गराउने कार्य नगर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार  ०७ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।