काठमाडौँ । पछिल्लो समय मुलुकबाट निर्यात हुने कफीको तुलनामा आयात २१ गुणा बढी भएको छ । मुलुकमा कफीको माग उच्च हुँदा कफी आयात पनि बढेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत)मा मुलुकले ३३ हजार ६९६ किलोग्राम कफी ७ करोड १७ लाख रुपैयाँमा निर्यात गर्दा आयात भने ७ लाख ३८ हजार १७९ किलोग्राम कफी एक अर्ब ६६ करोड २६ लाख रुपैयाँमा आयात गरेको हो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार इलाम, पाँचथर, झापा, गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङलगायत ४६ जिल्लामा व्यावसायिक कफी खेती हुँदै आएको छ ।
कफीको माग ह्वात्तै बढ्दा नेपाली उत्पादनले नपुगेको र आयात उच्च देखिएको कृषि विकास अधिकृत गौरव लुईटेलले बताए ।
उनका अनुसार; अहिले नेपालमा करिब ५ हजार हेक्टर क्षेत्रफलमा मात्रै कफी खेती गरिएको छ । तर, नेपालमा १३ लाख हेक्टर जमिनमा कफी खेती गर्न सकिन्छ । त्यसमा पनि ६१ हजार हेक्टर क्षेत्रफलमा उच्च गुणस्तरको कफी उत्पादन गर्न सक्ने जमिन छ ।
‘नेपालमा उत्पादन हुने अर्गानिक अराबिका कफीको माग अहिले पनि विदेशमा १५ हजार मेट्रिकटनभन्दा बढी छ । आन्तरिक बजारै पनि यसको माग ६ हजार मेट्रिकटनभन्दा बढी छ । तर, उत्पादन भने एकदमै कम छ,’ उनले भने ।
सरकारले कफी खेतीतर्फ किसानलाई खासै प्रोत्साहन गर्न नसकेको र कफी उत्पादन लागत महँगो हुने भएका कारण यसबाट किसानले धेरै फाइदा लिन नसक्दा पनि माग अनुसार उत्पादन बढ्न नसकेको उनको भनाई छ ।
सरकारले केन्द्र, प्रदेश, स्थानीय सरकारसँग समन्वय गरी किसानलाई कफी खेती गर्न सस्तो ब्याजमा ऋण दिने व्यवस्था गर्न सके कफी खेती बढ्ने उनले बताए ।
प्राविधिक सल्लाह–सुझाव दिने परामर्श केन्द्र स्थापना पनि आवश्यक रहेको उनी बताउँछन् । नेपालमा अझै गुणस्तरीय जातका कफीका बीउ भित्र्याएर उत्पादन बढाउनेतर्फ लाग्न आवश्यक रहेको उनको सुझाव रहेको छ ।
स्वाद र गुणस्तरका हिसाबले नेपालको कफी उत्कृष्ट रहेको हुनाले अन्य मुलुकमा नेपाली कफीको माग भएको नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीले बताएका छन् ।
‘यसरी नेपालीहरुले आफ्नो उत्पादनको मूल्य पाउनका लागि बाहिर निर्यात गर्ने गर्छन्, यसो हुँदा नेपाली कफी नेपालमा खपत नभई बाहिर जान्छ, केही मात्रामा रहेको कफीले नेपाली बजारको माग पूरा गर्न नसक्दा बाहिरबाट आयात गर्नुपरेको हो ।’ अध्यक्ष अधिकारीले भने ।
२ दर्जनबढी मुलुकमा नेपाली कफी
नेपालमा उत्पादित कफी २ दर्जन बढी मुलुकमा निर्यात हुने गरेको छ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालबाट जर्मन, स्वीजरल्याण्ड, इटाली, जापान, यूएई, यूके, अमेरिका, पोल्याण्ड, ताइवान, भारत, कोरिया, श्रीलंकालगायतका २ दर्जन बढी मुलुकमा नेपाली कफी निर्यात भएको छ ।
सो अवधीमा सबैभन्दा बढी जर्मनतर्फ ६ हजार ५०५ किलोग्राम कफी १ करोड ६१ लख रुपैयाँमा निर्यात भएको छ । त्यस्तै, स्वीजरल्याण्डतर्फ १ करोड ५६ लाख रुपैयाँको ८ हजार ३३८ किलोग्राम निर्यात भएको छ भने इटालीतर्फ १ करोड ३ लाख रुपैयाँको ४ हजार किलोग्राम निर्यात भएको हो ।
त्यसैगरी, जापानतर्फ ६ हजार ८७७ किलोग्राम, यूएईतर्फ एक हजार ७५९ किलोग्राम, यूकेतर्फ एक हजार १३२ किलोग्राम, अमेरिकातर्फ ७४४ किलोग्राम, पोल्याण्डतर्फ ८०० किलोग्राम, ताईवानतर्फ एक हजार ८० किलोग्राम, भारततर्फ ४२६ किलोग्राम, कोरियातर्फ ९९७ किलोग्राम र श्रीलंकातर्फ २०० किलोग्राम निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
४० भन्दाबढी मुलुकबाट आयात
चालु आर्थिक वर्षको नौँ महिनाको अवधीमा नेपालमा विभिन्न ४० मुलुकबाट विभिन्न ब्राण्डका कफी आयात भएको छ । जसमा भारत, भियतनाम, क्लोम्बिया, मलेसिया, थाइल्याण्ड, यूएई लगायतका मुलुकहरु रहेका छन् । सो अवधीका सबैभन्दा बढी भारतबाट एक लाख ८४ हजार ६६० किलोग्राम कफी ४० करोड २९ लाख रुपैयाँमा आयात भएको छ ।
त्यसैगरी, भियतनामबाट १ करोड २२ लाख रुपैयाँमा १७ हजार ४३१ किलोग्राम, कोलम्बियाबाट ४० लाख रुपैयाँको ७७९ किलोग्राम, मलेसियाबाट १७ लाख रुपैयाँको २०१ किलोग्राम, थाइल्याण्डबाट ११ लाख रुपैयाँको २०१ किलोग्राम र यूएईबाट ७ लाख रुपैयाँको ७४४ किलोग्राम आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।










प्रतिक्रिया