९ प्रतिशतले घट्यो सुन आयात, बिहेको सिजनमा पनि बढेन कारोबार


काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनको माग कम भएपछि आयातमा समेत कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष सुन आयात ९ प्रतिशतले घटेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिना (साउन–चैत) मा २३ अर्ब ५० करोड ४ लाख रुपैयाँ बराबरको १ हजार २५४ किलोग्राम सुन नेपाल भित्रिएको छ । परिणामको आधारमा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ९.७३ प्रतिशतले कम हो ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा १ हजार ३८९ किलोग्राम सुन १७ अर्ब १२ करोड ८९ लाख रुपैयाँमा आयात भएको थियो ।

विभागको तथ्यांक हेर्दा परिणाममा कमी आएपनि रकममा भने २७.११ प्रतिशतले बढेको छ । चालु आवमा सो परिणामको सुन आयात गर्दा सरकारले २ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष एक अर्ब ८५ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

सुनको मूल्यमा अधिक वृद्धि भएसँगै सुन कारोबार घटेको व्यापारीहरु बताउँछन् । सुनको मूल्य बढ्दै गएको र उपभोक्ताको सुन किन्ने क्षमता कम हुँदा बजारमा माग कम भई कारोबारमा कमी आएको हो ।

सुनको मूल्य निरन्तर बढ्दै गएपछि सुनचाँदी व्यवसायमा ठुलो असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्रचार्यले जानकारी दिए । ‘बजारमा माग न्यून हुँदा बिहेको सिजनका बेला पनि कारोबार बढ्न सकेको छैन, उनले भने, ‘मूल्य बढेका कारणले गर्दा कारोबार झण्डै ७०/८० प्रतिशत घटेको छ ।’ सुनको कारोबार घटेपछि व्यवसाय सञ्चालन गर्न नसकेर साना व्यवसायीहरु सुन व्यवसाय नै गर्न छाडेको उनको भनाई छ ।

उनका अनुसार, मुख्य बजारका सुनचाँदी पसलमा केही मात्रामा कारोबार भए पनि भित्री ठाउँमा रहेका पसल सुनसान छन् । साना व्यवसायीले पसलको भाडा तिर्न नसकेर पसल छाडेर अन्य व्यवसाय गर्न सुरु गरेका छन् ।

महासंघका अनुसार, सामान्य अवस्थामा बिहेको सिजनमा दैनिक ३० देखि ४० किलो सुनको माग हुने गरेको अहिले ५÷१० केजी पनि मुस्किलले हुने गरेको छ । आवश्यक पर्ने ग्राहकले न्यून परिमाणमा सुन खरिद गर्ने र पुरानै गहनाले काम चलाउने गरेको उपाध्यक्ष बज्रचार्य बताउँछन् ।

पछिल्लो समय देखिएको आर्थिक सुस्तता र मूल्य वृद्धिकै कारण सुनको आयात कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । बजारमा माग नभएपछि आयात घटाउनुपरेको उनको भनाइ छ । बजार चलायनमान नभएपछि आयात गरेको सुन पनि बैंकमा जम्मा भएर बस्ने हुँदा आयात नै कम गरेको उनले बताए ।

नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्रै छ । व्यवसायीहरूको सिफारिसमा बैंकहरुले सुन आयात गर्ने गरेको छ ।

सुस्त अर्थतन्त्र र महँगीका कारण सुनका गरगहनाको माग कम भएको व्यवसायीहरू बताउँछन् । पछिल्लो समय देखिएको सुस्त अर्थतन्त्रका कारण आमउपभोक्ताको सुन किन्ने क्षमता घटेको छ । यसै पनि अहिले बजारमा अन्य आधारभूत वस्तुकै मूल्य उच्च छ । विलासिता वस्तु मानिने सुनको मूल्य पनि प्रतितोला ३ लाख हाराहारी पुगेको छ । त्यो अवस्थामा आमउपभोक्ताले सुनका गरगहनालाई न्यून प्राथमिकतामा राखेको व्यवसायीहरू बताउँछन् । अहिले उपभोक्ताले आवश्यकताका मात्रै गरगहना बनाउने गरेको उनीहरूको भनाइ छ ।

‘पहिला उपभोक्ताले रहरका लागि पनि सुनका गरगहना बनाउने गर्थे । तर, अहिले आवश्यकताका आधारमा मात्रै गरगहना बनाउँछन् । त्यसमा पनि कम परिमाणका गरगहना बनाउने गर्छन्,’ व्यवसायी राजकुमार बराइलीले भने, ‘६ तोला सुन बनाउनेहरुले ३ तोला त आफुसँग भएको सुनको बताउँछन्, त्यसैले अहिले सुनको आयात बढ्न सकेको छैन ।’

महासंघले सुनको मूल्य बढ्दै गएकाले सुनचाँदी व्यवसायमा असर पर्न थालेपछि आगामी आर्थिक वर्षको बजेटमार्फत भन्सार महसुल र विलासिता कर समायोजन गर्न माग गरेको छ । हाल सुन आयातमा १० प्रतिशत भन्सार महसुल र २ प्रतिशत विलासिता कर रहेको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार  ०८ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।