भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने संकेत


काठमाडौँ । भारतले चिनी निर्यातमा अस्थायी रुपमा प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने संकेत देखिएको छ ।

नेपालले वार्षिक रूपमा उपभोग गर्ने चिनीको ठूलो हिस्सा भारतबाट आयात गर्दै आएको अवस्थामा आपूर्ति र मूल्य दुवैमा दबाब बढ्न सक्ने अनुमान गरिएको हो ।

भारतीय सरकारले गत बुधबारदेखि लागू हुनेगरी आगामी सेप्टेम्बर ३० सम्म चिनी निर्यातमा रोक लगाएको जनाएको छ । चिनी निर्यातमा भारतले लगाएको नयाँ प्रतिबन्धले अन्तर्राष्ट्रिय बजारमा पनि असर पार्ने अनुमान गरिएको छ ।

विश्व बजारमा नै प्रभाव पर्ने भएपछि नेपालमा पनि असर पर्ने संकेत देखिएको हो । यसअघि पनि सन् २०२३ सेप्टेम्बरमा कम वर्षाका कारण उखु उत्पादन घटेको भन्दै भारतले पहिलो पटक नेपालतर्फको चिनी ढुवानी रोकेको थियो । यो प्रतिबन्ध अक्टोबर ३१ सम्म लम्ब्याइएको थियो । नेपालको मुख्य चाडपर्वको सिजन भएकाले त्यतिबेला चिनीको मूल्य उच्च भएको थियो ।

चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत) सम्ममा नेपालमा १ अर्ब ७९ करोड २३ लाख रुपैयाँ बराबरको २ करोड ६३ लाख २३ हजार किलोग्राम चिनी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसको सबैभन्दा बढी अर्थात् ९९ प्रतिशत अर्थात् २ करोड ६२ लाख २२ हजार किलोग्राम चिनी भारतबाट नै आयात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधीमा नेपालमा २ करोड १ लाख ४५ हजार किलोग्राम चिनी आयात गर्दा १ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ बाहिरीएको थियो ।

नेपालमा चिनी बिक्री गर्दै आएको सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनसँग हाल करिब २ हजार टन चिनी मौज्दात रहेको कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले बताएका छन् ।

उनका अनुसार, मुलुकमा मासिक २० देखि २५ हजार टन चिनीको माग छ, जुन चाडपर्वमा ३० हजार टनसम्म पुग्छ । वार्षिक माग झन्डै ३ लाख टन छ ।

त्यसैगरी, अर्को सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग हाल कुल ९० टन चिनी रहेको र १५ हजार क्विन्टल चिनी खरिदका लागि ११ जेठसम्मको म्याद राखेर आन्तरिक टेन्डर आह्वान गरिएको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताए ।

वैशाखमा अन्तर्राष्ट्रिय टेन्डर गर्दा लागत धेरै परेपछि कम्पनीले आन्तरिक बजारबाटै चिनी उठाउन लागेको उनले जानकारी दिए ।

यता, भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि त्यसको प्रत्यक्ष असर नपर्ने नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए । यो वर्षका लागि माग धान्ने चिनी मौज्दात रहेकाले बजारमा अभाव सिर्जना नहुने उनले दाबी गरे ।

मुलुकमा आन्तरिक उत्पादनले मात्र नधाने पनि पर्याप्त आयात भइसकेको उनको भनाई छ । ‘यो आर्थिक वर्षमा हालसम्म भारतबाट करिब ६५/७० हजार टन चिनी आयात भइसकेको छ,’ अग्रवालले भने, ‘अझै गत वर्ष आयात भएको चिनी पनि स्टकमा छ ।’

उनका अनुसार, चिनी धेरै परिणामा बिक्री हुने वस्तु भएकाले बैंकको ब्याज, बीमा र कष्टका कारण सिजन अनुसार मूल्यमा सामान्य घटबढ हुने गर्छ । तर, भारतले प्रतिबन्ध लगाएकै कारण अत्यधिक रुपमा मूल्य नबढ्ने उनले बताए ।

हरेक पटक कुनै पनि वस्तु आयातमा समस्या हुने बित्तिकै बजारमा कृतिम अभाव सिर्जना गरेर मूल्य वृद्धि गर्ने प्रवृत्ति रहेको छ । अहिले पनि भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्न जोखिम रहेको छ ।

३/४ महिना अघि मात्र ग्यास आयातमा कमी आउँदा पनि व्यापारीहरुले कृत्तिम अभाव सिर्जना गरी मूल्य बढी लिने र उपभोक्ताले सजिलै किन्न नपाउने जस्ता समस्या भोगेका थिए ।

सरकारसँग आपूर्ति र मौज्दातबारे वैज्ञानिक र यथार्थ तथ्यांक नहुँदा बजारमा कालोबजारी र चलखेल सुरु हुने हुँदा तथ्यांक यकिन हुनुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन् ।

उनका अनुसार, घरायसी प्रयोजन र औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने चिनीको छुट्टाछुट्टै तथ्यांक राख्नुपर्ने हुन्छ । व्यवसायिक प्रयोजन र घरायसी प्रयोजनका लागि कति चिनी चाहिन्छ, कुन उद्योगले कति राखेका छन् भन्ने वैज्ञानिक तथ्यांक तयार गर्न जरुरी रहेको उनले बताए । तत्कालै उद्योगी र सरकारसँग कति मौज्दात छ तथ्यांक लिन अधिकारकर्मी तिमल्सिनाले आग्रह गरे ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार  १२ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।