काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मूल्य अभिवृद्धि कर (भ्याट) बिललाई प्रोत्साहन गर्न नयाँ व्यवस्था ल्याएको बताएका छन्। अब हरेक भ्याट बिल स्वतः लट्री टिकटमा रूपान्तरण हुने र दैनिक रूपमा सर्वसाधारणलाई लखपति बनाउने योजना सरकारको रहेको उनले बताए।
बजेटपछिको पत्रकार भेटघाटमा अर्थमन्त्री वाग्लेले भने, “नेपालजस्तो विकासोन्मुख मुलुकमा आयकरबाट मात्र ठूलो राजस्व संकलन गर्न कठिन छ। त्यसैले उपभोगमा आधारित कर प्रणालीलाई प्राथमिकता दिइएको हो।”
उनले मध्यम वर्गमा अत्यधिक करको भार नपर्ने दाबी गर्दै १० लाख रूपैयाँसम्मको वार्षिक आम्दानीमा आयकर दर केवल एक प्रतिशत मात्र रहेको जानकारी दिए। उनले भने, “अहिले मध्यम वर्गले गुनासो गर्ने ठाउँ कम छ। यति गरिब राष्ट्रले १० लाख रूपैयाँसम्मको आम्दानीमा आयकर एक प्रतिशत मात्र लगाएका छौं।”
अर्थमन्त्री वाग्लेले नेपालमा अझै अनौपचारिक अर्थतन्त्रको हिस्सा उच्च भएकाले आयकरबाट तत्कालै ठूलो राजस्व वृद्धि सम्भव नरहेको बताए। भविष्यमा प्रतिव्यक्ति आय बढ्दै गएपछि आयकर र उपभोग करबीच सन्तुलन कायम गरिने उनको भनाइ छ।
उनले भने, “हाम्रो लक्ष्य आयमा कटौती गरेर उपभोगमा लगाउने हो। हरेक भ्याट बिल अब अटोमेटिक लट्री टिकट बन्दैछ, जसबाट दैनिक रूपमा मानिसहरूलाई लखपति बनाइन्छ। विदेशबाट रेमिट्यान्स पठाउने नेपालीहरूलाई पनि यस योजनामा सहभागी गराइनेछ।” सरकारको अपेक्षा अनुसार यस नयाँ व्यवस्थाले भ्याट बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्ने, कर छली नियन्त्रण गर्ने र राजस्व संकलनमा सकारात्मक प्रभाव पार्ने उनको भनाई छ।










प्रतिक्रिया