प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति लगत्तै किन भारत गए रास्वपा सभापति लामिछाने ?


काठमाडौँ । प्रधानमन्त्रीको विवादित अभिव्यक्ति लगत्तै रास्वपा सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा गएका छन् । उनी आज दिउँसो १ बजे भारतको राजधानी दिल्लीका लागि प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्तिसँगै पार्टी सभावतिले गर्न लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ । विशेष गरेर भारतले नेपाली भुमी लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने सडक मार्ग बनाइरहेको अवस्थामा उनले त्यो भुमीको विषयमा कसरी प्रस्तुत हुन्छ भन्ने कुरो महत्त्वका साथ हेरिएको हो । लामिछानेले भारत भ्रमणका क्रममा यस विषयमा कुनै धारणा राख्छन् वा राख्दैनन् भन्ने विषयलाई महत्वका साथ हेरिएको छ।

लामिछानेको भ्रमण टाेलीमा पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा, प्रदीप आचार्य रहेका छन् । उनी ५ दिने भ्रमण सकेर २२ गते नेपाल फर्कनेछन् । सभापति लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यतालिका छ । भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । यसबीच व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले लामिछानेका उच्चस्तरीय कार्यक्रमहरू सम्पन्न गर्न समन्वयात्मक रूपमा सहयोग गरिरहेको पनि जनाइएको छ । तर भ्रमणमा सीमा विवादको विषयमा भने छलफल हुने या नहुने भन्ने रास्वपाले स्पष्ट पारेको छैन् ।

आइतबार सङ्घीय संसदको प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिए । सांसदहरूले नेपाली भुमी कालापानी लिपुलेक र लिम्पियाधुराको विषयमा प्रश्न उठाएपछि जवाफ दिने क्रममा साहले यस्तो भनेको हुन् ।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार  १४ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।