अमेरिका र इरानबीचको तनाव फेरि चर्किँदा मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बनेको छ ।
अमेरिकी हेलिकप्टर दुर्घटनाका लागि तेहरानलाई जिम्मेवार ठहराउँदै अमेरिकाले बुधबार बिहान इरानका विभिन्न सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ भने त्यसको जवाफमा इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी लक्ष्य तथा सैन्य संरचनालाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
इरानी आक्रमणका क्रममा जोर्डनस्थित मुवाफाक सल्टी एयर बेसतर्फ प्रक्षेपण गरिएका पाँचवटा क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले खसालेको जनाएको छ । उक्त सैन्य अड्डामा अमेरिकी एफ–३५ लडाकू विमानसहित अन्य सैन्य उपकरण तैनाथ छन् ।
जोर्डनको सरकारी समाचार संस्था पेट्राका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन र खसेका क्षेप्यास्त्रका भग्नावशेषबारे अनुसन्धान भइरहेको छ ।
यसै क्रममा इरानले बहराइन र कुवेततर्फ पनि आक्रमण गरेको दाबी गरिएको छ । ती दुवै देशले सम्भावित जोखिमलाई ध्यानमा राख्दै हवाई सुरक्षा प्रणाली सक्रिय पारेका थिए । यी घटनालाई विश्लेषकहरूले युद्धविरामपछि पुनः बढ्दो सैन्य टकरावको सङ्केतका रूपमा हेरेका छन् ।










प्रतिक्रिया