बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र


रसुवा । गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्रगतिमा अगाडि बढाइएको छ ।

बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो । हाल बाँधस्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुत रूपमा अघि बढिरहेको आयोजनाले जनाएको छ । आयोजनाका कार्यकारी प्रमुख सत्यराम ज्याख्वका अनुसार बालुवा थिग्र्याउने पोखरी (डिसिल्टिङ बेसिन) मा जम्मा भएका अवरोध हटाइसकिएको छ भने ‘हेडरेस’ सुरुङ तथा विद्युत् उत्पादनसँग सम्बन्धित उपकरणको सफाइसमेत सम्पन्न गरिएको छ ।

बाढीले कटान गरेको बाह्य संरचनाअन्तर्गत ड्याम तथा विद्युत्गृह जाने पहुँचमार्गमा रहेको पक्की पुलको संरक्षणका लागि दायाँ–बायाँ पर्खाल निर्माणकार्य जारी छ ।

आयोजनाले २०८१ पुस १६ गतेदेखि व्यावसायिक रूपले उत्पादन सुरु गरेको थियो । तर २०८२ असार २४ गतेको बाढीले बाहिरी सतहको ड्याम संरचनामा क्षति पुर्याएपछि आयोजना पूर्ण रूपमा बन्द हुन पुगेको बताइएको छ । त्यसपछि सुरुङ तथा उपकरणहरूको सफाइ गरी मङ्सिर २० गतेदेखि पुनः विद्युत् उत्पादन सुरु गरिएको थियो ।

करिब रुपैयाँ २३ अर्ब ७३ करोड लागतमा आयोजना निर्माण भएको थियो । आयोजनामा ४.८ किलोमिटर लामो हेडरेस सुरुङमार्फत प्रतिसेकेन्ड ८० घनमिटर पानी विद्युत्गृहमा पुर्याइन्छ । त्यहाँ जडान गरिएका तीनवटा फ्रान्सिस टर्बाइनबाट अधिकतम १ सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको आयोजनाका केन्द्र प्रमुख सन्तोष अधिकारीले बताए।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार  १४ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।