नेपालमा ५ वर्ष पूरा गर्दै इनड्राइभको नयाँ क्याम्पेन ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ सार्वजनिक


काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो सञ्चालनको ५ वर्ष पूरा गरेको अवसरमा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ नामक नयाँ ब्रान्ड क्याम्पेन सार्वजनिक गरेको छ।

चालक–केन्द्रित सेवा मोडेल, आयमा पारदर्शिता, स्वतन्त्र निर्णयको अधिकार तथा लचिलो कार्य वातावरणप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाउने उद्देश्यले उक्त अभियान सुरु गरिएको कम्पनीले जनाएको छ।

जुनदेखि अगस्ट २०२६ सम्म सञ्चालन हुने अभियानले चालकहरूले कहिले काम गर्ने, कुन यात्रा स्वीकार गर्ने तथा आफ्नो समय र आम्दानी कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उनीहरूसँग रहेको स्वतन्त्र निर्णय क्षमतालाई मुख्य सन्देशका रूपमा प्रस्तुत गर्नेछ।

इनड्राइभले नेपालमा सेवा सुरु गरेदेखि यात्रु र चालकबीच एपमार्फत प्रत्यक्ष रूपमा भाडादर तय गर्न सकिने ‘पियर–टु–पियर’ मोडेललाई प्रवर्द्धन गर्दै आएको छ। कम्पनीका अनुसार यस प्रणालीले चालकहरूलाई यात्राको छनोट, कार्य समय निर्धारण तथा आम्दानी व्यवस्थापनमा थप स्वायत्तता प्रदान गरेको छ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले चालकहरूले दीर्घकालसम्म विश्वास गर्न सक्ने पारदर्शी र निष्पक्ष प्लेटफर्म निर्माणमा कम्पनी केन्द्रित रहेको बताइन्। उनले चालकहरूको आवश्यकता र सुविधालाई प्राथमिकतामा राख्दै व्यक्तिगत तथा व्यावसायिक जीवनबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने वातावरण निर्माण गरिएको उल्लेख गरिन्।

कम्पनीका अनुसार ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ अभियानले डिजिटल यातायात तथा गिग–अर्थतन्त्रमा कार्यरत श्रमिकहरूको कार्य अवस्था, आय सुरक्षा तथा रोजगारीका अवसरसम्बन्धी समकालीन बहसलाई समेत प्रतिबिम्बित गर्नेछ।

पाँचौँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ‘होमकमिङ मिटर’ अभियानसमेत सुरु गर्ने घोषणा गरेको छ। उक्त अभियानअन्तर्गत वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर प्लेटफर्म–आधारित अवसरमार्फत नेपालमै आफ्नो जीवन र जीविकोपार्जन पुनः स्थापित गरेका चालकहरूको प्रेरणादायी कथा सार्वजनिक गरिनेछ।

इनड्राइभले नेपाललाई दक्षिण एशियाली सञ्चालनका लागि महत्त्वपूर्ण बजारका रूपमा लिँदै आएको बताउँदै स्थानीय आवश्यकता अनुरूप सेवा विस्तार, आर्थिक सशक्तीकरण तथा समुदायसँगको सहकार्यलाई निरन्तर प्राथमिकता दिने जनाएको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार  १४ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।