नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा थालनी गरेको छ ।
संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा भइरहेको यस ऐतिहासिक साझेदारीले अन्तरराष्ट्रियस्तरको विद्युत् प्रसारण पूर्वाधार निर्माण र महत्त्वपूर्ण सडक सञ्जालको स्तरोन्नति कार्य गरिरहेको छ ।
नेपाल सरकारका वरिष्ठ अधिकारीहरू, एमसीसी तथा अमेरिकी दूतावासका प्रतिनिधिहरू, विकास साझेदारहरू, निर्माण व्यवसायीहरू, स्थानीय सरोकारवालालगायतको सामुदायिक अगुवाहरूको सहभागितामा सो कार्यको सुरुआत भएको हो ।
नेपाल र संयुक्त राज्य अमेरिकाको संयुक्त लगानी रहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा उच्च क्षमतायुक्त ४०० केभी सबस्टेशन तथा ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुँदैछ । यस पूर्वाधारले नेपालको राष्ट्रिय विद्युत् ग्रीडलाई सदृढ पार्नुका साथै प्रसारण अवरोध न्यूनीकरण गर्नेछ । घरपरिवार र व्यवसायका लागि विद्युत् आपूर्तिको भरपर्दोपनामा सुधार गर्नेछ भने क्षेत्रीय विद्युत् बजारमा नेपालको बृहत् सहभागिता गराउन सघाउने विश्वास लिइएको छ ।
आज शिलान्यास गरिएको २९७ किमि लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन खण्ड, रातमाटे–न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्ड रहेका छन् ।
“नेपाल सरकारले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि गरिएको महत्त्वपूर्ण लगानीका रूपमा आत्मसात् गरेको छ”, नेपाल सरकारका अर्थ सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा घनश्याम उपाध्यायले भने । उनले थपे, “ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवर्द्धन गर्न र नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत् प्रसारण पूर्वाधारलाई सुदृढ पार्नु आवश्यक छ ।”












प्रतिक्रिया