काठमाडौँ । पछिल्लो समय डिजिटल कारोबारको प्रयोग बढ्दै जाँदा एटिएमबाट हुने कारोबार भने घटेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को बैशाखमा एटिएमबाट भएको कारोबार १६ प्रतिशतले घटेको हो ।
एक महिनाको अवधीमा एटिएमबाट एक करोड ९७ हजार पटकमा ८० अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ । जुन रकमको आधारमा गत वर्षको सोही अवधीको तुलनामा १६.०८ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा १ करोड १३ लाख ९ हजार पटकमा ९५ अर्ब ९८ करोड ७ लाख रुपैयाँ कारोबार भएको थियो ।
त्यसैगरी, एटिएमसँगै अन्य कार्डहरुबाट हुने कारोबार पनि घटेको तथ्यांकले प्रष्ट पारेको छ । डेबिट कार्डबाट बैशाख महिनामा १ करोड ६ लाख ४५ हजार पटकमा ८२ अर्ब ९२ करोड ७ लाख रुपैयाँमात्र कारोबार भएको छ ।
जुन गत आवको सोही अवधीको तुलनामा १८ अर्ब ४८ करोेड रुपैयाँ कम कारोबार भएको हो । गत वर्ष बैशाख महिनामा डेबिट कार्डबाट १ करोड २२ लाख ७१ हजार पटकमा १ खर्ब १ अर्ब ४१ करोड ५ लाख रुपैयाँ कारोबार भएको थियो ।
क्रेडिट कार्डबाट हुने कारोबार भने सामान्य बढेको छ । गत वर्ष २ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकोमा यस वर्ष २ अर्ब १६ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ । गत वर्ष प्रिपेड कार्डबाट ९९ करोड ८ लाख रुपैयाँको कारोबार भएकोमा यस वर्ष ९९ करोड ३ लाख रुपैयाँमात्र कारोबार भएको हो ।
यता, डिजिटल कारोबार अन्तर्गतमा माध्यमहरुबाट हुने कारोबारमा भने उल्लेख्य वृद्धि देखिएको छ । जसमा मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, फास्टर पेमेन्ट सिस्टम, इन्टरनेट बैंकिङ, वालेट र क्यूआरबाट भएको कारोबारमा वृद्धि देखिएको हो ।
चालु आर्थिक वर्षको बैशाख महिनामा मोबाइल बैंकिङ मार्फत ७ करोड ८८ लाख ९२ हजार पटकमा ६ खर्ब १२ अर्ब ३९ करोड ४ लाख रुपैयाँ कारोबार भएको छ । जुन गत वर्षको सोही अवधीको तुलनामा २५.३८ प्रतिशतले बढी हो । गत वर्ष बैशाखमा मोबाइल बैंकिङमार्फत ५ करोड ७३ लाख ७१ हजार पटकमा ४ खर्ब ५६ अर्ब ९५ करोड ४ लाख रुपैयाँ कारोबार भएको थियो ।
त्यसैगरी, कनेक्ट आइपिएसबाट गत वर्ष २ खर्ब ४४ अर्ब ३८ करोड ९ लाख रुपैयाँ कारोेबार भएकोमा यस वर्ष ३ खर्ब २ अर्ब ५३ करोड १ लाख रुपैयाँ कारोबार भएको छ । फास्टर पेमेन्ट सिस्टममार्फत गत वर्ष ४ खर्ब ७२ अर्बको कारोबार भएकोमा यस वर्ष ५ खर्ब ८७ अर्बको कारोबार भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
इन्टरनेट बैंकिङमार्फत बैशाख महिनामा २५ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । गत वर्ष सोही अवधीमा २० अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो । त्यस्तै, वालेटमार्फत गत वर्ष ४४ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएकोमा यस वर्ष ५३ अर्ब ९ करोड रुपैयाँको र क्यूआरबाट गत वर्ष ९६ अर्ब २३ करोड रुपैयाँको कारोबार भएकोमा यस वर्ष १ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँको कारोबार भएको बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।
डिजिटल बैंकिङ कारोबार बढेपछि एटीएमको प्रयोग घटेको र त्यसमार्फत हुने कारोबार रकम पनि घटेको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन् ।
‘डिजिटल बैंकिङमा नागरिक आकर्षित भएपछि एटीएमलगायत कार्डबाट हुने भुक्तानी र नगद कारोबार घटेको हो,’ उनले भने, ‘नगद कारोबारको तुलनामा डिजिटल बैंकिङ सरल र सुरक्षित भएपछि त्यतातर्फ प्रयोगकर्ताको चासो बढेको देखिन्छ ।’
राष्ट्र बैंकले पनि डिजिटल बैंकिङलाई प्रोत्साहन गरिरहेकाले वित्तीय कारोबारमा त्यसको असर देखिएको उनले जानकारी दिए ।
उनका अनुसार, पछिल्लो समय उपभोक्ताहरुले नगद कारोबार गर्नै छाडिसके, यसरी नगद कारोबार कम हुनु वित्तिय क्षेत्रका लागि राम्रो हो ।












प्रतिक्रिया