काठमाडौँ । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर र यसको नेपालका आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राख्दै ‘एलजी इसेन्सियल सिरिज’ अन्तर्गत नयाँ घरेलु उपकरण सार्वजनिक गरेको छ।
काठमाडौंस्थित भिभान्ता काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको यस शृंखलामा डबल डुवर फ्रिज, पूर्ण स्वचालित माथिबाट कपडा धुने मेसिन तथा एसी समावेश छन्।
कम्पनीका अनुसार ‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियान अन्तर्गत ल्याइएको इसेन्सियल सिरिजमा आधुनिक प्रविधि, ऊर्जा दक्षता, टिकाउपन तथा किफायती मूल्यलाई प्राथमिकता दिइएको छ। नेपाली परिवारको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर यी उत्पादन विकास गरिएको कम्पनीले जनाएको छ।
इसेन्सियल सिरिज अन्तर्गतको डबल डुवर फ्रिजमा आइस नजम्ने प्रविधि र स्मार्ट प्रणाली जस्ता सुविधा रहेका छन्। यसले हातैले आइस हटाउनुपर्ने आवश्यकता समाप्त गर्नुका साथै अघिल्ला मोडेलको तुलनामा बीस प्रतिशत बढी तरकारी भण्डारण क्षमता प्रदान गर्ने कम्पनीको दाबी छ।
त्यसैगरी, पूर्ण स्वचालित कपडा धुने मेसिनमा सुरक्षा प्रणाली, विशेष ढकनी तथा पानी प्रतिरोधी नियन्त्रण प्यानल जस्ता सुविधा समावेश गरिएको छ। कम पानीको चापमा पनि प्रभावकारी रूपमा सञ्चालन हुने प्रविधि यसमा उपलब्ध रहेको बताइएको छ।
एसीमा प्रभावकारी रूपमा चिसो र तातो हावा प्रदान गर्ने सुविधा रहेको कम्पनीले जनाएको छ। साथै वातावरणमैत्री शीतलक पदार्थको प्रयोगले ऊर्जा खपत कम गर्नुका साथै प्रयोगकर्तालाई थप आरामदायी अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
कम्पनीका अनुसार एलजी इसेन्सियल सिरिजका उत्पादनहरूको बिक्री वितरण असार महिनादेखि नेपालभर सुरु हुनेछ। प्रारम्भिक मोडेलको मूल्य ४५ हजार ९ सय ९० रुपैयाँबाट सुरु हुनेछ। उत्पादनहरू देशभरका आधिकारिक विक्रेता, बहुब्रान्ड खुद्रा बिक्री केन्द्र तथा प्रमुख विद्युतीय व्यापार माध्यममार्फत उपलब्ध हुनेछन्।
सिजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको एकमात्र आधिकारिक वितरक हो। कम्पनीले लामो समयदेखि नेपाली बजारमा एलजीका विभिन्न उत्पादन उपलब्ध गराउँदै आएको छ।










प्रतिक्रिया