उपत्यकामा बर्डफ्लु तीव्र फैलियो, देशभर ११ जिल्लाका ८२ स्थानमा संक्रमण


काठमाडौँ । उपत्यकामा पछिल्लो समय बर्डफ्लु सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ । सो रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको विभागले जनाएको छ ।

गत चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म सङ्क्रमण फैलिएको हो ।

विभागका अनुसार उपत्यकाको तीन जिल्लामा भने दैनिक ४/५ वटामा संक्रमण देखिने गरेको छ । संक्रमित स्थानमा पशु चिकित्सक पुगेर कुखुरा, अन्डा र दाना नष्ट गर्ने तथा वरिपरि सरसफाइ गरी रोग नियन्त्रणका लागि पहल भइरहेको विभागका महानिर्देशक डा. उमेश दाहालले बताए ।

‘अन्य जिल्लामा नियन्त्रण भइसकेको छ ।’ उनले भने, ‘काठमाडौँका तीनवटै जिल्लामा र काभ्रेमा भने संक्रमण तिव्र फैलिएको छ ।’

उनका अनुसार, मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी अथवा खुला स्थानमा जथाभावी फाल्ने कारणले काग तथा अन्य जंगली चरामार्फत संक्रमण थप फैलिएको हो । उपत्यकाको फार्ममा किसानहरूले रोग सर्न नदिने गरी अवलम्बन गर्नुपर्ने जैविक सुरक्षामा समेत धेरै ध्यान नदिएको उनले बताए ।

विशेषगरी कागमा देखिएको संक्रमण २१ दिनसम्म रहने भएकाले धेरै नै बर्डफ्लु रोग सार्न सक्ने उनको भनाइ छ । काग मरेपछि कहाँ मरेको भन्ने थाहा हुँदैन, त्यही मरेको कागले बर्डफ्लु सार्ने गरेको छ ।’ उनले भने, ‘सदर चिडियाखानालगायत धेरै ठाउँमा कागले संक्रमण सारेको छ त्यसैले चिडियाखाना नै बन्द गर्न निर्देशन दिएको हो ।’

विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउँमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा बर्डफ्लु रोग नियन्त्रण अभियान सञ्चालन गरिँदै आइएको छ ।

हालसम्म बर्डफ्लु संक्रमण नियन्त्रण गर्न ५ लाख ६९ हजार ८५८ जिउँदो कुखुरा, ९ लाख ८९ हजार र १ लाख ९५ हजार ४८५ किलो दाना नष्ट गरिएको महानिर्देशक दाहालले जानकारी दिए ।

त्यस्तै, चितवनमा ५७ हजार ६३ कुखुरा, २ लाख ९५ हजार अन्डा र १२ हजार किलो दाना नष्ट गरिएको विभागले जनाएको छ ।
झापामा २० हजार ९० कुखुरा, ९७ हजार अन्डा र १० हजार ४६५ किलो दाना, मोरङमा १ लाख एक हजार ८६० कुखुरा, ९८ हजार अन्डा र २३ हजार ८१० किलो दाना, सुनसरीमा २ लाख ८५ हजार कुखुरा, ४ लाख २७ हजार अन्डा र १ लाख २० हजार २२५ किलो दाना नष्ट गरिएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

नवलपरासी पश्चिममा २०८ वटा कुखुरा र १०० किलो दाना, बारामा २ हजार ८६५ कुखुरा, ४ हजार अन्डा र ३ हजार १२५ किलो दाना, महोत्तरीमा ७८ वटा कुखुरा र काभ्रेमा ४५० कुखुरा नष्ट गरिएको विभागले जनाएको छ ।

उपत्यकाको तीन जिल्लामा बर्डफ्लुको संक्रमण तीव्र दरले फैलिएको विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायले बताए । त्यसमा पनि भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिका बर्डफ्लुको संक्रमण बढी देखिएको उनको भनाई छ ।

‘साना किसानले घरमा वा सानो फर्ममा पालेको लोकल कुखुरामा संक्रमण बढी छ,’ उनले भने, ‘यहाँका घर र फार्मपिच्छे संक्रमण दर उच्च छ ।’

उनका अनुसार, उपत्यकामा १÷२ सय मिटरभित्रै कुखुरा फार्म भएकाले पनि छिटो संक्रमण फैलिने गरेको छ । छोटो दूरी कुखुराहरू यताउति गर्न भ्याउँछन्, त्यस कारण संक्रमण बढी देखिएको उपाध्यायले बताए ।

बर्डफ्लु संक्रमण बढेुपछि मानिसमा त्रास फैलिएको छ । तर बर्डफ्लु सोझै मानिसमा भने नसर्ने डा. उपाध्यायले जानकारी दिए । ‘बर्डफ्लु संक्रमित क्षेत्रबाट तेस्रो भाइरस जन्मने हुनाले रोगसँग लड्ने क्षमता कमजोर भएका तथा रुघाखोकी लागिरहेको मानिसमा सर्ने उच्च जोखिम हुन्छ ।’ उनले भने, ‘त्यस कारण मानिसमा नसरोस् भनेर कुखुरा, अन्डा र दाना नष्ट गर्ने गरेको हो ।’

हालसम्म संक्रमणबाट करोडौँ प्रत्यक्ष आर्थिक क्षति भएको छ । संक्रमण भएपछि उक्त फार्ममा तत्कालको लागि कुखुरा राख्न नमिल्ने हुँदा व्यावसायिक रूपमा रहेका फार्महरू अर्बौंको अप्रत्यक्ष क्षति भएको विभागले जनाएको छ ।

किसानले ‘बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको राहतसम्बन्धी मापदण्ड’ २०७९ अनुसार राहत पाउने व्यवस्था छ । प्रमुख जिल्ला अधिकारीको मातहतमा रहने दरभाउ निर्धारण समितिको सिफारिसका आधारमा लागत मूल्यको ७५ प्रतिशतसम्म किसानले राहत पाउने व्यवस्था छ । क्षतिपूर्ति बजार मूल्यअनुसार निर्धारण हुनेछ ।

हाल कुखुरा नष्ट गरिएका किसानहरूलाई राहत वितरण गर्न सरकारले ५२ करोड रुपैयाँ व्यवस्था गरेको छ । अर्थ मन्त्रालयबाट रकमान्तर भएर पशु सेवा विभागमा उक्त रकम आइसकेको विभागका महानिर्देशक दाहालले बताए ।

बर्डफ्लुको संक्रमण उच्च देखिएकाले मासुमा खानमा बिशेष ध्यान दिनुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता समीर कुमार अधिकारीले बताए ।

संक्रमण धेरै बढ्यो भने मानिसमा पनि सर्न सक्छ । त्यसैले मानिसमा सर्न नदिनका लागि पनि मासु कारोबार रोक्का गर्नुपर्ने उनको भनाई छ ।

उनका अनुसार, मानिसले संक्रमणबाट जोगिन मासु वा अन्डालाई कम्तीमा ७० डिग्री सेल्सियस तापक्रममा राम्रोसँग पाक्ने गरी पकाएर मात्र सेवन गर्नुपर्छ । साथै, मासु काट्न प्रयोग गरिने चक्कु, भाँडाकुँडा र भान्साको सरसफाइमा विशेष ध्यान पु¥याउनु पर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार  ०८ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।