नेपाल बैंक एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आबद्ध


काठमाडौँ । नेपाल बैंक लिमिटेड राष्ट्रिय कार्ड स्विच (एनपीएस–एनसीएस) तथा नेपालपे कार्ड प्रणालीमा आबद्ध भएको छ।

नेपाल बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच भएको सम्झौताअनुसार बैंकले आफ्नो कार्ड स्विच प्रणाली एकीकृत गरेपछि ग्राहकलाई नेपालपे कार्ड जारी गर्न तथा सो कार्डमार्फत कारोबार स्वीकार गर्न सक्नेछ।

एनसीएचएलका अनुसार नेपालपे कार्ड अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालसहित विदेशमा रहेका एटीएम तथा पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिनेछ। साथै, अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्रिय कार्ड स्विचले विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गरी स्वदेशी कार्ड कारोबारको रुटिङ र सेटलमेन्टलाई सहज बनाउने, लागत घटाउने तथा डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

हालसम्म ३५ वटा बैंक तथा वित्तीय संस्था राष्ट्रिय कार्ड स्विचमा आबद्ध भइसकेका छन्। तीमध्ये ७ वटा बैंकले नेपालपे कार्ड जारी गरिसकेका छन् भने १० वटा बैंकले कार्ड कारोबार स्वीकार गर्ने सेवा सञ्चालन गरिरहेका छन्।

नेपाल बैंकले डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकता दिँदै ग्राहकलाई आधुनिक तथा सहज भुक्तानी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार  १५ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।