पहिरोका कारण सडक अवरुद्ध


काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद मार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रुपमा बन्द भएका छन् ।

वर्षाका कारण पहिरो आउँदा जाजरकोटा जिल्लाको नलगाढ नगरपालिका–८ मलुवास्थित जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा बन्द भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

उनले असार २२ गते रोल्पाको माडि गाउँपालिका–६ हार्निङमा पहिरो आउँदा रुकुम घोराही सहिद मार्र्ग बन्द भएको जानकारी दिए।

त्यसैगरी, असार १७ गते रुकुमपश्चिम आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको भेरी करिडोर हालसम्म सञ्चालनमा आएको छैन । वर्षाका कारण अवरुद्ध भएका केही मुख्य राजमार्ग आंशिक तथा एकतर्फी रूपमा सञ्चालनमा आएका छन् भने केही सडक खुलाउने प्रयास भइरहेको केन्द्रीय प्रवक्ता काफ्लेले बताए।

पूर्ण रूपमा अवरुद्ध भएका राजमार्ग सञ्चालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा आएका सडकमा सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई नेपाल प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार  १२ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।