बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने


काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ ।

समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम रु एक लाखसम्मको बचत रकम फिर्ता गर्न लागिएको समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिए ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ललितपुरको जवलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बचत फिर्ता शुभारम्भ गर्ने छन् । केही दिनअघि मुख्यमन्त्री बानियाँको उपस्थितिमा भएको छलफलले ती सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने निर्णय गरेको थियो ।

यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्नेगरी तयारी भइरहेको समिति सदस्य ढकालले राससलाई जानकारी दिए । समितिले बचतकर्ताको विवरण ‘भेरिफाइड’ गर्ने काम सम्पन्न गरेको छ ।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार  ०५ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।