यूनाइटेड अजोड इन्स्योरेन्सले पारित गर्यो लाभांश


यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको आम्दानीबाट वितरण गर्ने लाभांश साधारण सभाबाट पारित गरेका छ । बुधबार काठमाण्डौंमा सम्पन्न कम्पनीको ३२ औं वार्षिक साधारण सभाले ४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशतका दरले ९ करोड ९० लाख रुपैयाँको बोनस र ०.२२५६ प्रतिशतका दरले ५२ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।

उल्लेखित बोनस विबतरण पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैया कायम हुनेछ ।

साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पनि पारित गरेको छ ।

२०८३ साल जेठ मसान्तसम्म कम्पनीले शाखा तथा उपशाखा, तेस्रोपक्ष बीमा काउण्टर र प्रादेशिक कार्यालयहरुको समायोजन गरी हाल प्रधान कार्यालय तथा प्रादेशिक कार्यालय समेत १०४ वटा शाखा तथा उपशाखा र तेस्रोपक्ष बीमा काउण्टरबाट बीमा सेवा प्रदान गर्दै आएकोे छ ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार  १८ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।