वैदेशिक रोजगारमा जानेको संख्या घट्यो, यस्तो छ तथ्यांक


काठमाडौँ । कामको खोजीमा गत आर्थिक वर्षमा ७ लाख ९२ हजार नेपालीले विदेश यात्रा गरेका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार १ सय ८७ जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।

जसमा ६ लाख ९७ हजार ९६ जना पुरूष र ९५ हजार ९१ जना महिला रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्ष विदेशिनेको संख्या ४७ हजार ७९ ले कमी हो । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जान विभागबाट ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृति लिएका थिए ।

विभागको तथ्यांकअनुसार म्यानपावर मार्फत वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । गत वर्ष म्यानपावरहरूले २ लाख ६८ हजार ९ सय ९० जनालाई वैदेशिक रोजगारीमा पठाएका थिए भने १ लाख २८ हजार ५ सय २० जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएका थिए । गत वर्ष जी–टु–जी मार्फत ८ हजार १ सय ९७ जना गएका थिए ।

म्यानपावरहरूले अघिल्लो आर्थिक वर्ष ३ लाख ५९ हजार ६ सय ७५ जनालाई वैदेशिक रोगजारीमा पठाएका थिए । जुन गत आर्थिक वर्षको तुलनामा ९० हजार ६ सय ८५ ले कमी हो ।

वैदेशिक रोजगारीमा जानेहरूमा सबैभन्दा बढी यूएईमा १ लाख ८३ हजार ५ सय ८० (पुनः श्रम स्वीकृतिसहित), मलेसियामा १ लाख २८ हजार ७ सय ५३, कतारमा १ लाख २१ हजार २ सय ३० जना, साउदी अरेबियामा १ लाख २३ हजार ७ सय १९ जना रहेका छन् ।

यस्तै, कुवेतमा ४३ हजार ३ सय ६०, रोमानिया ३३ हजार ३ सय ६०, जापानमा २२ हजार २ सय ६६ जना गएका छन् ।
विभागका अनुसार गत आवमा चार लाख ८२ हजार ६ सय ४३ दक्ष श्रमिक विभिन्न देशमा रोजगारीका लागि गएका छन् । त्यस्तै, अदक्ष श्रमिक एक लाख ९० हजार दुई सय ६४ र अर्धदक्ष श्रमिक एक लाख १४ हजार ६ सय १४ रहेका छन् । निश्चित पेसागत क्षमता भएका तीन हजार पाँच सय ७० र उच्च दक्षता भएका एक हजार ९६ जनशक्ति पनि रोजगारीका लागि बाहिरिएको विभागको तथ्यांकले देखाएको छ ।

कुन महिनामा कति गए ?

गत आर्थिक वर्षको साउनमा ६८ हजार एक सय १० जना विदेश गएका छन् । यस्तै, भदौमा ६७ हजार नौ सय ७२, असोजमा ६४ हजार ६ सय ३४, कात्तिकमा ७३ हजार ९४ र मंसिरमा ६५ हजार सात सय पाँच युवा श्रमका लागि बिदेसिएका थिए ।

त्यसैगरी, पुसमा ६२ हजार पाँच सय ५९, माघमा ७० हजार पाँच सय तीन, चैतमा ६१ हजार, आठ सय १९, जेठमा ६१ हजार ७२ र असारमा ६९ हजार तीन सय ६२ युवा रोजगारी खोज्दै विभिन्न मुलुक पुगेको तथ्यांक छ ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार  १३ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।