युक्रेनको सैन्य नेतृत्वमा व्यापक फेरबदल


रुसविरुद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित युक्रेनले आफ्नो सैन्य नेतृत्वमा व्यापक फेरबदल गरेको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सार्वजनिक दबाब र युद्ध रणनीतिमा सुधारको आवश्यकतालाई ध्यानमा राख्दै सेना प्रमुखसहित उच्च सैन्य नेतृत्व परिवर्तन गरेका हुन् ।

हालै गरिएको सरकारी पुनर्गठनपछि सेना प्रमुख र रक्षामन्त्री दुवैले पद गुमाएका छन् । निवर्तमान सेना प्रमुख र रक्षामन्त्रीबीच देखिएको मतभेदले युद्ध सञ्चालनमा असर पार्ने चिन्ता बढिरहेका बेला यो निर्णय आएको हो । युक्रेनले यस वर्ष युद्धका विभिन्न मोर्चामा उल्लेखनीय प्रगति गरेको दाबी गर्दै आएको छ ।

नयाँ सेना प्रमुखका रूपमा ४३ वर्षीय मेजर जनरल मिखाइलो द्रापाती नियुक्त भएका छन । उनी युक्रेनी सेनाको नयाँ पुस्ताका कमान्डरमध्ये एक मानिन्छन् र सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेपछि सुरु भएको द्वन्द्वदेखि आफ्नो नेतृत्व क्षमता र साहसका कारण परिचित छन्।

राष्ट्रपति जेलेन्स्कीले द्रापाती र अन्य सैन्य कमान्डरलाई कोर प्रणालीमा सुधार, हतियार तथा ड्रोनको आपूर्ति तीव्र बनाउने, रुसको आक्रमणविरुद्ध हवाई प्रतिरक्षा थप सुदृढ गर्ने तथा स्पष्ट परिचालन रणनीति तयार पार्ने निर्देशन दिएका छन ।

यसैबीच, निवर्तमान रक्षामन्त्रीसँग पनि राष्ट्रपति जेलेन्स्कीले छुट्टै छलफल गरेका थिए । ३५ वर्षीय प्रविधिमैत्री उद्यमी मिखाइलो फेडोरोभलाई युक्रेनको ड्रोन प्रविधिको तीव्र विकास गराएर युद्धक्षेत्रमा रणनीतिक लाभ दिलाएको श्रेय दिइन्छ ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार  १५ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।