झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख भएको छ । उत्पादन बढाउनेभन्दा व्यवसाय जोगाउने चिन्ता बढ्दै गएको भन्दै किसानले सरकारसँग तत्काल उत्पादनमैत्री नीति ल्याउन माग गरेका छन् ।
विद्युत् महसुलमा वृद्धि, माछाको दाना, औषधि तथा श्रम खर्च महँगिँदै जानु, प्रभावकारी बजार व्यवस्थापनको अभाव र भारतबाट हुने अवैध तथा सस्तो आयातित माछासँगको असमान प्रतिस्पर्धाले माछापालन व्यवसाय दबाबमा परेको किसानहरूको भनाइ छ ।
नेपाल मत्स्य विकास सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मी शिवाकोटीका अनुसार माछापालन कृषि व्यवसाय भए पनि व्यवहारमा उद्योगसरहको लागत र महसुलको भार किसानले व्यहोर्नुपरेको छ । उनले भने, “माछापालन कृषि व्यवसाय भए पनि व्यवहारमा उद्योगसरहको भार किसानले बोक्नु परेको छ । विद्युत् महसुल, दाना र अन्य सामग्रीको लागत बढ्दै गएको छ तर उत्पादनको मूल्य त्यसअनुसार बढेको छैन । यसले किसानको लगानी नै जोखिममा परेको छ ।”
सङ्घका अनुसार झापामा वार्षिक करिब एक हजार ५०० टन माछा उत्पादन हुने गरेको छ भने करिब २०० जना किसान व्यावसायिक माछापालनमा संलग्न छन् । लागत बढ्दै गएपछि नयाँ लगानीकर्ता आकर्षित हुन नसकेको र केही किसानले व्यवसाय विस्तारको योजना स्थगित गरेका छन् ।
व्यावसायिक किसान हरिप्रसाद मैनालीले माछा उत्पादन लागत नियन्त्रण गर्न कठिन हुँदै गएको बताए। “दाना, औषधि, विद्युतीय उपकरण र श्रम खर्च निरन्तर बढिरहेको छ । बजारमा माग भए पनि लागत धेरै भएकाले अपेक्षित उत्पादन गर्न सकिएको छैन । सरकारले प्राविधिक सहयोग र उत्पादनमैत्री नीति ल्याउनुपर्छ,” उनले भने।
किसान राजु सापकोटाले गुणस्तरीय दाना, आधुनिक प्रविधि र प्राविधिक तालिमको अभावले उत्पादन क्षमता बढाउन चुनौती थपिएको उल्लेख गर्दै प्रविधिमैत्री माछापालनलाई राज्यले प्राथमिकता दिनुपर्ने धारणा राखे ।
किसानका अनुसार झापामा उत्पादन हुने माछाले पूर्वी नेपालको ठूलो बजार धान्न सक्ने क्षमता भए पनि चिस्यान भण्डारण, बजार व्यवस्थापन, मूल्य स्थिरीकरण र आयात नियन्त्रणको अभावले स्वदेशी उत्पादनले अपेक्षित लाभ लिन सकेको छैन ।










प्रतिक्रिया