पर्याप्त तरलताबीच अग्राधिकार सेयरको आवश्यकता कति ?


काठमाडौँ । केही वर्षअघि बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव र पुँजीकोषको दबाब सम्बोधन गर्न बैंकहरूले जारी गरेको अविमोच्य गैर सञ्चयी अग्राधिकार सेयर अहिले फेरि चर्चामा आएको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जा विस्तार सुस्त हुँदा विगतमा उच्च प्रतिफल दिने प्रतिबद्धतासहित जारी गरिएका यस्ता सेयरको लागत र उपयोगिताबारे बैंकिङ क्षेत्रमा बहस हुन थालेको हो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८२ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा ५९ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.०३ प्रतिशतमा झरेको छ । यसले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहेको देखाउँछ ।

यही अवस्थामा विगतमा बैंकहरूले पुँजीकोष बलियो बनाउन प्रयोग गरेको अग्राधिकार सेयरको प्रभावबारे चर्चा सुरु भएको छ । बैंकहरूले यस्तो सेयर जारी गर्दा बजारमा तरलता अभाव थियो र कर्जा विस्तारका लागि थप पुँजी आवश्यक थियो । तर, वर्तमान अवस्थामा तरलता प्रर्याप्त भएका कारण अविमोच्य गैर सञ्चयी अग्राधिकार सेयरको आवश्यक नभएको तर्क हुन थालेको छ ।

बैंकर्सहरू भने अग्राधिकार सेयरलाई केवल खर्चका रूपमा हेर्न नहुने बताउँछन् । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार यस्तो सेयरले बैंकको प्राथमिक पुँजी बढाउने भएकाले थप व्यवसाय विस्तार गर्ने क्षमता प्रदान गर्छ । उनका अनुसार बैंकले अग्राधिकार सेयरमार्फत उठाएको पुँजीले कर्जा विस्तार गर्ने क्षमता बढाउँछ । “यो बैंकको व्यवसाय विस्तार गर्ने आधार हो, केवल खर्च होइन,” उनले भने ।

थकालीका अनुसार बैंकहरूले विगतमा उच्च ब्याजदरमा मुद्दती निक्षेप संकलन गर्नुपरेको अवस्था थियो । त्यसको तुलनामा स्थायी प्रकृतिको पुँजीका रूपमा अग्राधिकार सेयरले दीर्घकालीन रूपमा सहयोग गर्ने उनको भनाइ छ । उनका अनुसार अग्राधिकार सेयरमा लाभांश बैंकले नाफा कमाएपछि मात्र वितरण गर्ने भएकाले यो सामान्य ऋण वा निक्षेपजस्तो नियमित ब्याज खर्च होइन ।

पुर्वबैंकर भुवन दाहालका अनुसार यस्तो सेयर बैंकहरूको कोर क्यापिटल (प्राथमिक पुँजी) को महत्वपूर्ण हिस्सा हो । यो लगानीकर्ताको लागि इरिडिमेबल (फिर्ता नहुने) प्रकृतिको भए पनि बैंकहरूले निश्चित समयपछि नियामक राष्ट्र बैंकको स्वीकृति लिएर कल अप्सन (फिर्ता गर्न सक्ने) सुविधा रहन्छ । उनी भन्छन्, “होल्डरले कम्पनीलाई सेयर बेच्छु भन्न त पाउँदैन, तर एउटा व्यक्तिले अर्काे व्यक्तिलाई बेच्न सक्छन् ।” यस्तो प्रकृतिको सेयर साढे ६ प्रतिशत देखि साढे ८ प्रतिशतसम्म लाभांश दिने कुरा सामान्य भएको समेत उनको भनाई छ । उनले भने, “साधारण सेयरमा लगानी गर्नेहरूले १५–२० प्रतिशतसम्म लाभांशको अपेक्षा गरिरहेका हुन्छन्, त्यो तुलनामा ८ प्रतिशतलाई धेरे ठुलो मान्न मिल्दैन ।”

ब्याजदर उच्च भएको अवस्थामा गरिएको यस्तो निर्णयलाई अहिलेको अधिक तरलताको अवस्थासँग मात्रै जोडेर हेर्नु उपयुक्त नहुने उनको भनाई छ । बैंकहरूले यस्तो उपकरण जारी गर्ने नगर्ने कुरा उनीहरूको पुँजी योजना र बजारको तरलतामा निर्भर हुने दाहाल बताउँछन् । एक–दुई वर्ष पैसा सरप्लस (बढी) हुँदैमा दीर्घकालीन रणनीतिको रुपमा लिइएको यस्तो उपकरणको लागतलाई हतारमा प्रतिक्रिया दिन नहुने उनको भनाई छ ।

यद्यपि अहिलेको अवस्थामा यस्तो प्रकृतिको सेयरले साधारण लगानीकर्तालाई भने मार परेको दाहाल बताउँछन् । उनले भने, “पहिले प्रिफरेन्स सेयरधनीलाई दिएपछि मात्र अरुले (साधारण सेयरधनी) लाभांश पाउने गर्छन् । यदि बैंकको नाफा सोचेजस्तो भएन वा नाफामा गिरावट आएमा यसले साधारण सेयरधनीले पाउने लाभांशको अंश घटाउन सक्छ, जसको प्रत्यक्ष मार सर्वसाधारण लगानीकर्तालाई पर्न जान्छ ।”

नेपाल राष्ट्र बैंकले पनि अग्राधिकार सेयरलाई बैंकको पुँजी संरचना बलियो बनाउने एउटा माध्यमका रूपमा लिएको जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार यो अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रयोग हुने प्राथमिक पुँजीको एउटा हिस्सा हो ।

उनका अनुसार यस्तो सेयरको मुख्य विशेषता भनेको बैंकले लगानीकर्तालाई सावाँ रकम फिर्ता गर्नुपर्ने बाध्यता नहुनु हो । बैंकको वित्तीय अवस्था कमजोर भएको अवस्थामा लाभांश वितरण रोक्न सकिने व्यवस्था रहेकाले यसले बैंकको पुँजी संरक्षणमा सहयोग गर्ने उनको भनाइ छ ।

अग्राधिकार सेयरमा बीमा कम्पनी तथा अन्य संस्थागत लगानीकर्ताको आकर्षण देखिएको बैंकरहरू बताउँछन् । दीर्घकालीन लगानीका लागि निश्चित प्रतिफल दिने उपकरण आवश्यक पर्ने भएकाले यस्ता लगानीकर्ताले यसलाई प्राथमिकतामा राखेका हुन् ।

यद्यपि अहिले बैंकिङ क्षेत्रको मुख्य चुनौती अग्राधिकार सेयरभन्दा पनि कर्जा विस्तारमा देखिएको छ । बैंकमा पर्याप्त रकम भए पनि उद्योग, व्यवसाय र निजी क्षेत्रमा कर्जाको माग अपेक्षाअनुसार बढ्न सकेको छैन । त्यसका कारण बैंकहरूले उपलब्ध पुँजी पूर्ण क्षमतामा परिचालन गर्न सकेका छैनन् ।

बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार अग्राधिकार सेयरको प्रभावलाई मूल्यांकन गर्दा अहिलेको तरलता अवस्थामात्र नभई यसको दीर्घकालीन उद्देश्यलाई पनि हेर्नुपर्ने हुन्छ । बैंकहरूले यो पुँजी कति प्रभावकारी रूपमा प्रयोग गर्न सक्छन् भन्ने विषयले नै यसको वास्तविक उपयोगिता निर्धारण गर्ने उनीहरू बताउँछन् ।

के हो अविमोच्य गैर सञ्चयी अग्राधिकार सेयर

अविमोच्य गैर सञ्चयी अग्राधिकार सेयर साधारण सेयरभन्दा फरक प्रकृतिको हुन्छ । यसमा लगानी गर्ने संस्थाले तोकिएको दरमा लाभांश पाउने गर्छन् । तर उनीहरूले लगानी गरेको रकम बैंकबाट फिर्ता माग्न पाउँदैनन् । बैंकले स्वेच्छाले फिर्ता नगरेसम्म यस्तो रकम बैंकको प्राथमिक पुँजीका रूपमा रहन्छ ।

यदि कुनै वर्ष बैंक घाटामा गयो भने त्यस वर्षको लाभांश लगानीकर्ताले पाउँदैनन् र अर्को वर्ष थपेर दिनुपर्ने व्यवस्था पनि हुँदैन । यही कारण यसलाई गैर सञ्चयी अग्राधिकार सेयर भनिएको हो । यस्तो सेयरमा सर्वसाधारणले लगानी गर्न पाउँदैनन् । राष्ट्र बैंकको कडा नियमन र उच्च जोखिमको कारण बीमा कम्पनी, पेन्सन फन्ड, बैंक तथा वित्तीय संस्था जस्ता संस्थागत लगानीकर्ताले मात्र यस प्रकारको सेयरमा लगानी गर्न पाउने व्यवस्था छ ।

कुन बैंकको कति ?

नेपालमा हालसम्म विभिन्न बैंकहरूले यस्तो सेयर जारी गरेका छन् । कृषि विकास बैंकले ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गरेको छ । यसमा ६ प्रतिशत प्रतिफल दिने व्यवस्था गरिएको छ ।

नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गरेको छ भने यसमा ८ प्रतिशत प्रतिफल दिने व्यवस्था छ । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको यस्तो सेयर जारी गरेको छ, जसको प्रतिफल दर ८.२ प्रतिशत रहेको छ ।

त्यस्तै, सानिमा बैंकले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य अग्राधिकार सेयर जारी गरेको छ । यसमा ८.२५ प्रतिशत प्रतिफल दिने व्यवस्था छ । सिद्धार्थ बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको यस्तो सेयर जारी गरेको छ भने प्रतिफल दर ८.२५ प्रतिशत रहेको छ । एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गरेको छ र यसमा पनि ८.२५ प्रतिशत प्रतिफल तोकिएको छ ।

कामना सेवा विकास बैंकले भने ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गरेको छ । यसमा ९ प्रतिशत प्रतिफल दिने व्यवस्था गरिएको छ ।

यसरी हेर्दा हाल बैंकिङ क्षेत्रमा करिब २० अर्ब रुपैयाँ बराबरको अविमोच्य गैर सञ्चयी अग्राधिकार सेयर सञ्चालनमा रहेको देखिन्छ । औसत ८ प्रतिशत प्रतिफलका आधारमा बैंकहरूले वार्षिक करिब १ अर्ब ६० करोड रुपैयाँसम्म लाभांश वितरण गर्नुपर्ने सम्भावना रहन्छ । यद्यपि यो रकम ऋणको ब्याजजस्तो अनिवार्य खर्च भने होइन । बैंकले नाफा कमाएको अवस्थामा मात्र लाभांश वितरण गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार  १२ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।