नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार


काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ । व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक दृष्टिकोणलाई प्राथमिकतामा राखेसँगै निगमको आम्दानी, सिट उपयोगिता तथा सञ्चालन व्यवस्थापनमा सुधार देखिएको हो ।

गत जेठ ५ गते खुला प्रतिस्पर्धाबाट छनोट भएका पाँच जना स्वतन्त्र सञ्चालक तथा मन्त्रालयका दुई प्रतिनिधिसहित निगममा सात सदस्यीय सञ्चालक समिति गठन गरिएको थियो । गत असार ३० गतेको मन्त्रिपरिषद् निर्णयबाट हवाई सेवा क्षेत्रका विज्ञ महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसहित कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो ।

कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेपछि श्रेष्ठले तीन वर्षभित्र निगमलाई आत्मनिर्भर बनाउने लक्ष्य सार्वजनिक गर्नुभएको थियो । उनले जिम्मेवारी सम्हालेको पहिलो १५ दिनमा सञ्चालक समितिको तीनवटा बैठकसहित विभिन्न छलफल आयोजना गरी संस्थागत सुधारका कार्ययोजना, प्राथमिकता र रणनीति तय गरिएको जानकारी दिए ।

गत आर्थिक वर्षको असार महिनाको तुलनामा यस वर्षको असारमा निगमको आम्दानी करिब ३२ प्रतिशतले वृद्धि भएको निगमले जनाएको छ । गत वर्ष असारमा करिब ७५ प्रतिशत सिट उपयोगिता थियो भने यस वर्षको असारमा यो बढेर ८५ दशमलव चार प्रतिशत पुर्‍याउन सफल भएको निगमले जनाएको छ ।

निगमले उपलब्ध स्रोत, साधन र जनशक्तिको प्रभावकारी परिचालनमार्फत आम्दानी वृद्धि, अनावश्यक खर्च नियन्त्रण तथा सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ । आगामी दिनमा सेवा सञ्जाल विस्तार, सञ्चालन दक्षता अभिवृद्धि र वित्तीय अनुशासनलाई थप सुदृढ बनाइने तयारी गरिएको छ ।

आफ्नो अनुभव, विज्ञता र अन्तरराष्ट्रिय सम्बन्धको उपयोग गर्दै नेपाल वायुसेवा निगमलाई आत्मनिर्भर, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय राष्ट्रिय ध्वजावाहकका रूपमा स्थापित गर्ने प्रतिबद्धता कार्यकारी अध्यक्ष श्रेष्ठले व्यक्त गरेका छन् ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार  १६ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।