विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा खानतलासी गरिएको सम्बन्धमा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । कार्यालयले सो समयभित्र सम्बन्धित प्रमाण, अभिलेख र कागजातसहित लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
विराटनगर महानगरपालिका–७, गोश्वारा रोडस्थित मुन्दडाको घरमा यही साउन १८ गते ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी गरिएको खानतलासी गरिएको थियो । कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनाका सम्बन्धमा प्राप्त सूचना, उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरी परिचालनको वैधता, निर्णय प्रक्रिया र कार्यसम्पादनका विषयमा गम्भीर कानुनी तथा कार्यविधिगत प्रश्न उठेको जनाएको छ ।
कार्यालयले प्रहरी सङ्गठनको कार्यसम्पादन कानुनी शासन, आवश्यकताको सिद्धान्त, समानुपातिकताको सिद्धान्त, जवाफदेहिता तथा प्रचलित कानुन र प्रहरी नियमावलीअनुसार भएको सुनिश्चित हुनुपर्ने उल्लेख गरेको छ ।
स्पष्टीकरण पत्रमा प्रदेश प्रहरी कार्यालयले प्रहरी परिचालन कुन सूचना वा गोप्य सूचनाको आधारमा गरिएको थियो ? सूचनाको विश्वसनीयता कसरी परीक्षण गरिएको थियो ? ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्नुको औचित्य के थियो ? परिचालन आदेश कुन अभिलेखका आधारमा जारी गरिएको थियो ? खानतलासीका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो वा थिएन ? बरामद भएको वस्तु वा प्रमाण के थिए ? अपराधसम्बन्धी प्रमाण नपाइए पनि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्नुको आवश्यकता र औचित्य के थियो ? उक्त घटनाले उद्योगी–व्यापारी र सर्वसाधारणमा परेको प्रभावबारे धारणा मागेको छ ।
एसपी कटवालसँग प्रहरी म्यानुअल, आन्तरिक कार्यविधि तथा व्यावसायिक आचारसंहिताको पालना भएको पुष्टि गर्ने आधार, आफ्नो भूमिका र जिम्मेवारीको सीमा पनि स्पष्ट रूपमा खुलाउन स्पष्टीकरणमा भनिएको छ । तोकिएको अवधिमा चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभए वा सन्तोषजनक नदेखिए प्रहरी ऐन, प्रहरी नियमावली तथा अन्य प्रचलित कानुनबमोजिम विभागीय कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ ।










प्रतिक्रिया