काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सेवा सञ्चालन (इनेबल) गर्ने सम्बन्धमा सम्झौता भएको छ।
एक औपचारिक कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका हुन्।
सम्झौतापछि एनसीएचएलको इएफटी स्वीच राष्ट्रिय कार्ड स्वीचसँग एकीकृत भइसकेको प्रणालीमार्फत ज्योति विकास बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ। साथै डिस्कभर नेटवर्कअन्तर्गतका अन्तर्राष्ट्रिय कार्ड तथा रुपे कार्डको कारोबार स्वीकार गरी नेपालपे कार्डका कारोबारसमेत प्रशोधन गर्न सक्ने व्यवस्था हुनेछ।
एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायिक सेवा विस्तार सुरु गरेसँगै डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालपे कार्ड नेपालसहित विदेशमा रहेका एटीएम तथा पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने व्यवस्था भएको जनाएको छ।
हाल एनसीएचएलको इएफटी सेवामार्फत ११ सदस्य बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड सेवा सञ्चालन गरिरहेका छन्। इएफटी र राष्ट्रिय भुक्तानी स्वीचबीचको एकीकरणपछि अब नेपालपे कार्डको कारोबार पनि प्रशोधन गर्न सकिने भएको हो। अन्य सदस्य बैंक तथा वित्तीय संस्थाले समेत नेपालपे कार्ड जारी तथा स्वीकार गर्ने तयारी गरिरहेका छन्।
एनसीएचएलका अनुसार हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे प्रणालीमा आबद्ध भइसकेका छन्। तीमध्ये ८ बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गरिसकेका छन् भने ११ भन्दा बढी संस्थाले नेपालपे कार्ड स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याइसकेका छन्।
ज्योति विकास बैंकले हाल १० लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले देशभर रहेका १२१ शाखा, २ एक्सटेन्सन काउन्टर तथा ७५ एटीएममार्फत सेवा विस्तार गर्दै डिजिटल बैंकिङ तथा कार्ड सेवालाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।










प्रतिक्रिया