साउन ७ गते सामान किनेका व्यक्तिले पाए १० लाख रुपैयाँ


काठमाडौँ । साउन ७ गते शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार पाएका छन् ।

आन्तरिक राजस्व विभागले आज साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि उपहार घोषणा गरेको हो । जसमा शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोत्ताले उपहार पाएका छन् । शिव कृष्ण जेनरल स्टोरमा सामान िकनेका उनकाे थप विवरण आन्तरिक राजश्व विभागले पहिचान गर्ने छ ।

सरकारले साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर एक–एक लाख रुपैयाँ नगद उपहार पाउने घोषाणा गरिएको थियो । सोको उपहार केही बेरमा घोषणा हुने छ ।

साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि घोषणा गरिएको बम्पर उपहार मार्फत १० लाख रुपैयाँ भने शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले पाएका हुन् । यो पुरस्कार रकममा भने कर लाग्नेछ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ ।

बैंक तथा वालेटको क्युआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन्। तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार  १० : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।