नागढुंगाबाट चल्छन् दैनिक १०० बढी सवारीसाधन, ‘मक ड्रिल’ पछि सर्वसाधारणले प्रवेश पाउने


काठमाडौँ । निर्माण सुरु गरिएको ८० महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्गमा आपतकालीन सवारीसाधन सञ्चालनमा आउन थालेका छन् ।

चन्द्रागिरि नगरपालिका–२ स्थित, टुटीपाखामा ४ कात्तिक ०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेसँगै सुरु भएको सुरुङ निर्माण साउन ११ गते सोमबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विधिवत रुपमा उद्घाटन गरेका हुन् ।

साउन ११ देखि आपतकालिन सवारी साधनको लागि सुरुङमार्ग चौबीसै घण्टा खुला गरिएको छ । जसमा एम्बुलेन्स, फायर फाइटिङ र सुरक्षाकर्मीको गाडीका लागि ओहोरदोहोर गरिरहेका छन् । दैनिक १०० देखि १५० गाडि नागढुंगाको सुरुङमार्ग हुँदै भित्रिने र बाहिरिने गरेको नागढुंगा सुरुङमार्गका उपनिर्देशक सञ्जय पन्थीले बताए ।

‘पहिलो लटमा आपत्कालीन सवारीसाधनलाई सुरुङ खुला गरिने योजना अनुरुप अहिले १०० देखि १५० सवारीसाधनले सुरुङमार्ग प्रयोग गरिरहेका छन्’ उनले भने ।

सर्वसाधारणका लागि अर्को साता हुने भनिएको ‘मक ड्रिल’ पछि मात्रै प्रवेश दिइने उनले बताए । ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सुरुङमार्ग कोभिड–१९ महामारी, मुआब्जा विवाद तथा अन्य प्राविधिक कारणले निर्माणमा ढिलाइ हुँदा अझै सर्वसाधारणले प्रवेश पाएका छैनन् ।

सुरुङमार्ग करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सुरुङले काठमाडौँ र धादिङको दूरीलाई १० देखि १५ मिनेटमा सीमित बनाएको छ ।

नेपालकै पहिलो २.६८ किलोमिटर लामो यो अत्याधुनिक सुरुङमा सर्वसाधरणले सवारी सञ्चालन गर्न विभिन्न बैंकहरुबाट एनट्याग लिनुपर्ने हुन्छ । नागढुंगा सुरुङमार्गमा टोल शुल्क स्वचालित रूपमा तिर्न अत्याधुनिक ’एनट्याग’ अर्थात् आरएफआईडी प्रविधि राखिएको छ । सुरुङमार्गमा प्रयोग गरिने एनट्याग एक प्रकारको इलेक्ट्रोनिक टुल हो, जसलाई सवारी साधनको अगाडिको सिसाको भित्री भागमा टसिन्छ ।

जुन एनट्याग हाललाई कुमारी बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सानिमा बैंकमार्फत १ हजार, २ हजार र ५ हजार रुपैयाँ जम्मा गरेर लिन सकिन्छ । लक्ष्मी बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकबाट भने केही समयपछि एनट्याग लिन सकिने विभागकी प्रतिनिधि चेतना थापाले जानकारी दिइन् । ती बैंकहरुसँग पनि सहकार्य गर्ने तयारी भइरहेको उनले बताइन् ।

एनट्यागको लागि सवारी साधनको दर्ता प्रमाणपत्र (ब्लु बुक), सवारी धनीको नागरिकता, राष्ट्रिय परिचयपत्र आवश्यक पर्छ ।
नागढुंगाको बाहिर गेटमा जडान गरिएका आरएफआईडी रिडरले सवारीको सिसामा रहेका एनट्यागलाई गुडिरहेकै अवस्थामा स्वतः पहिचान गर्ने र ३० सेकेन्डभित्र गेट खुल्ने व्यवस्था मिलाइएको छ । जसले गर्दा सवारी साधन रोकिरहनु पर्ने, जाम हुने जस्ता झन्झट हुँदैन ।

एनट्याग नहुनेहरूका लागि शुरूआति चरणमा टोल बुथमै नगद तिर्ने वा ’क्युआर कोड’ स्क्यान गर्ने विकल्प पनि खुला राखिएको छ ।

तर, नेपालकै पहिलो सुरुङमार्ग भएकोले यो सुरुङमार्गमा परिक्षणको लागि आपतकालीन सवारीसाधनका लागि मात्र खुला गरिएको आयोजना प्रमुख ई. सौजन्य नेपालले बताए । अहिले सबै सवारी साधनलाई प्रवेश नदिएको उनी बताउँछन् ।
सुरक्षाका सम्पूर्ण प्राविधिक पक्षहरूलाई पूर्ण रूपमा जाँचेर, हप्ता–दश दिन पछि मात्रै अन्य निजी तथा सार्वजनिक सवारीलाई प्रवेश दिइने उनले बताए ।

कुन सवारी साधनलाइ कति लाग्छ शुल्क ?

सरकारले नागढुंगा सुरुङमागबाट याता गर्न सवारीसाधन अनुसारको शुल्क निर्धारण गरेको छ । जुअनुसार कार तथा भ्यानको लागि काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ ।

यस्तै, मिनीबस तथा टिपरलाई भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ भने बस र ट्रकलाई भित्रिँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ, हेभी ट्रकलाई भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ ।

सुरुङमार्गमा मोटरसाइकल, स्कुटर र कुनै पनि दुईपाङ्ग्रे सवारी साधनलाई पनि प्रवेश निषेध गरिएको छ । यस्तै, तीनपाङ्ग्रे सवारी (टेम्पो÷अटोरिक्सा) , डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्वलनशील वा विष्फोटक सामग्री बोक्ने सवारी साधनलाई पूर्ण रूपमा निषेध गरिएको छ ।

यस्तै, पैदलयात्री समेत यो सुरुङमा हिँड्न पाउने छैनन् । सन् २०१९ को १४ नोभेम्बरदेखि निर्माण थालिएको नागढुङ्गा सुरुङमार्ग ५ वर्षपछि सञ्चालनमा आएको हो ।

यसमध्ये करिब १९ अर्ब रुपैयाँ जापान सरकारको सहुलियतपूर्ण ऋण हो भने बाँकी रकम नेपाल सरकारले जग्गा अधिग्रहण, मुआब्जा तथा अन्य व्यवस्थापनमा खर्च गरेको हो । आयोजनाका लागि करिब ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।