मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण तथा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवा प्रदायक कम्पनीलाई विभिन्न निर्देशन जारी गरेको छ ।

प्राधिकरणले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम मोबाइल सेवा प्रदायकहरूलाई सेवा सुधार तथा नियामकीय अनुपालनका लागि आठ बुँदे निर्देशन दिइएको हो ।

प्राधिकरणले मोबाइल सेवाको गुणस्तर (क्वालिटी अफ सर्भिस–क्युओएस), रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी उपयोग, अनुमतिपत्रका शर्तहरूको पालना तथा उपभोक्ता हित संरक्षणलाई थप प्रभावकारी बनाउन यी निर्देशन जारी गरिएको जनाएको छ । पछिल्लो समय मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर, नेटवर्क अवरोध, ग्राहक गुनासो व्यवस्थापन र ग्रामीण क्षेत्रसम्म सेवा विस्तारका विषयमा उपभोक्ताबाट गुनासो बढिरहेका बेला प्राधिकरणको यो निर्णय आएको हो ।

प्राधिकरणले सेवा प्रदायकलाई नेटवर्कको विश्वसनीयता, सेवाको गुणस्तर र ग्राहक अनुभव सुधार गर्न निर्देशन दिएको छ । यसका लागि प्राधिकरणले निर्धारण गरेका प्रमुख कार्यसम्पादन सूचक (केपीआई) पूरा भए–नभएकोसम्बन्धी प्रतिवेदन नियमित रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । सेवा प्रदायकले आफ्नो नेटवर्कको अवस्था, सेवा अवरोध, डेटा गति तथा ग्राहक सन्तुष्टिको अवस्थाबारे नियमित जानकारी नियामक निकायलाई उपलब्ध गराउनु पर्नेछ ।

उपभोक्ता सेवा सुधारलाई विशेष प्राथमिकता दिँदै प्राधिकरणले ग्राहक सहायता प्रणालीलाई प्रविधिमैत्री बनाउन आग्रह गरेको छ । सेवा प्रदायकले उपभोक्ता बडापत्रको प्रभावकारी कार्यान्वयन गुपर्ने, २४सै घण्टा गुनासो सुनुवाइका लागि नवीनतम प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्नुपर्ने र गुनासो समाधान प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने निर्देशन दिइएको छ । साथै ग्राहक सन्तुष्टि सर्वेक्षण नियमित सञ्चालन गरी प्राप्त सुझावका आधारमा सुधारात्मक कार्य गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मोबाइल सेवा नपुगेका वा गुणस्तरीय सेवा उपलब्ध नभएका क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ । 

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार  १५ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।