रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सरकारको ध्यानाकर्षण


काठमाडौँ । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको र आवतजावत अवरोध भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि प्रभावकारी काम गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले किसान रोपाई सकेर रसायनिक मलका पर्खाइमा रहेको जनाउँदै तत्काल मल आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरे ।

बैठकमा सांसद आशिष गजुरेलले सडक दुर्घटनाबाट दैनिक आठ जनाको मृत्यु हुने गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सिन्धुलीमा यही साउन १८ गते बसले ठक्कर दिँदा कार नदीमा खसेको र तीन जना बेपत्ता भइ हालसम्म फेला नपरेको भन्दै उद्धार कार्यलाई सशक्त बनाउन माग गरे । उनले सडक सुरक्षा प्रभावकारी बनाउन सके ठूलो मात्रामा दुर्घटना कम गर्न सकिने बताए ।

सांसद इन्दिरा रानामगरले आइतबार भक्तपुरको सुधार केन्द्रमा एक जनाको मृत्यु भएको घट्ना दुःखद भएको उल्लेख गर्दै सुधार केन्द्रमा सिर्जनात्मक काम सिकाउनुपर्ने, खुला क्षेत्र हुनुपर्ने, सरकारले नियमित अनुगमन गर्नुपर्ने माग गरिन् ।

सांसद पार्वती विकले गए राति जाजरकोट सदरमुकाममा पहिरोले क्षति पुर्याई आवतजावत नै बन्द भएको जानकारी गराउँदै दिर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् । साथै उनले किसाले रोपाई सकेर रसायनिक मलको पर्खाईमा रहेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले खाना पकाउने ग्यासको अभावमा जनताको चुलो नबलेको बताउँदै तत्काल समाधान गर्न माग गरिन् ।

सांसद प्रकाश सिंह कार्कीले मन्त्रिपरिषद् बैठकले केही दिन अघि गरेको नेपाल इन्टर मोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डलाई खारेज गरी नेपाल ट्रान्जिट वेयर हाउस कम्पनी लिमिटेडमा गाभ्ने निर्णयमा पुनविचार गर्न माग गरे । उनले दुवै संस्थाका उद्देश्य र काम फरक भएको उल्लेख गर्दै दुवै संस्थाको आवश्यक सुधार गरी सुदृढ बनाउन मागसमेत गरे ।

सांसद समीक्षा बाँस्कोटाले मेची राजमार्गको माइखोला खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको र हरेक वर्ष यात्रुले सास्ती भोग्नुपरेको भन्दै तत्काल दिगो समाधान खोज्न सरकारसँग माग गरिन् ।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार  १४ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।