सिन्धुपाल्चोक । तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । सडक अवरुद्ध भएपछि तातोपानी नाकामार्फत हुने आयातनिर्यात प्रायः ठप्प भएको छ ।
बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि उक्त नाका २६ दिनदेखि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको हो । बाह्रबिसे–कोदारी खण्डको कुल लम्बाइ २६ किलोमिटर छ । भोटेकोसी गाउँपालिका–२ स्थित कोदारी (इको) क्षेत्रको सडकखण्डमा असार ३१ गते आएको पहिरोले सडक भासिएपछि दुई देशबीचको सडक सञ्जाल टुटेको छ । नेपाल र चीनलाई जोड्ने उत्तरी सिमानाको यो मार्ग अन्तरराष्ट्रिय व्यापारिक मार्ग हो ।
अरनिको राजमार्ग डाक्लाङमा साउन ३ गतेदेखि र लिपिङ बजार नजिकै साउन १९ गतेदेखि वर्षाका कारण सडक अवरुद्ध भएको छ ।
तातोपानी भन्सारमार्फत हुने आयातनिर्यात पूर्ण रूपमा ठप्प हुँदा नेपाल मात्रै होइन, चीनतर्फका गोदाम र सडकमा रोकिएका मालवस्तु पनि नेपाल भित्रिन सकेका छैनन् । अरनिको राजमार्गको कोदारी, डाकलाङलगायत स्थानमा पहिरो जानेक्रम अझै रोकिएको छैन ।
उक्त भन्सार कार्यालयका भन्सार अधिकृत दिपेन्द्रप्रकाश गिरीले चालु आर्थिक वर्षका लागि सरकारले २५ अर्ब २५ करोड राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरको छ, भन्छन ।
“सडक अवरुद्ध हुनेक्रम जारी छ । भन्सारबाट कुनै काम हुन सकेको छैन”, प्रमुख भन्सार अधिकृत गिरीले भने, “दुई देशबीचको व्यापारमा मात्र होइन आवतजावत गर्न कठिन भएको छ ।” भोटेकोसीको लार्चामा रहेको तातोपानी सुक्खा बन्दरगाह पहरोमुनि भएकाले माथिबाट पहिरो झर्ने गरेको छ ।
सडक अवरुद्ध हुँदा दसैँ, तिहारलक्षित सामान, स्याउ, लसुनजस्ता फलफूल र विभिन्न उद्योग निर्माणका सामान बोकेका कन्टेनर चीनको सिगर्चे, ल्हासा र न्यालमलगायत सहरमा रोकिएको भन्सार कार्यालयले जनाएको छ । करिब ५०० कन्टेनर चिनियाँ क्षेत्रमा र नेपालतर्फ कोदारीमाथि ४६ कन्टेनरमा करिब २० अर्ब बढीको सामान रोकिएका छन् ।






प्रतिक्रिया