कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न ५ करोड ५० लाख अनुदान


कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन अभियान’अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी गत आर्थिक वर्षमा ५ करोड ५० लाख अनुदान उपलब्ध गराइएको छ ।

कार्यक्रमबाट जिल्लाका ३७३ किसान लाभान्वित भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

किसानलाई स्थानीयस्तरमै व्यवसाय सञ्चालन गर्न सहज बनाउँदै आयआर्जनमा वृद्धि गर्ने तथा बढीभन्दा बढी किसानलाई उत्पादनमा जोड्ने उद्देश्यले विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए।

प्रमुख पन्तका अनुसार बाख्रा, भैँसी, बङ्गुर र मत्स्यपालनतर्फका फार्म, समूह तथा सहकारीमार्फत अनुदान दिइएको हो । कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाका ६७ बाख्रा फार्मलाई ४० लाख, मोहन्याल गाउँपालिकाका १० बाख्रा फार्म, तीन समूह र एक सहकारीलाई ४० लाख, गौरीगङ्गा नगरपालिकाका २२ बाख्रा फार्मलाई ४० लाख तथा सोही नगरपालिकाका थप २० बाख्रा फार्मलाई ४० लाख अनुदान उपलब्ध दिइएको छ ।

त्यसैगरी, घोडाघोडी नगरपालिकाका चार बङ्गुर फार्मलाई ४० लाख, लम्कीचुहा नगरपालिकाका १३ भैँसी फार्मलाई ५० लाख, टीकापुर नगरपालिकाका सात भैँसी फार्मलाई ५० लाख, जानकी गाउँपालिकाका तीन भैँसी फार्मलाई ४० लाख, भजनी नगरपालिकाका चार भैँसी फार्मलाई ४० लाख र धनगढी उपमहानगरपालिकाका २२ भैँसी फार्मलाई ५० लाख अनुदान दिइएको छ ।

बर्दगोरिया गाउँपालिकाका तीन मत्स्य फार्मलाई ४० लाख, जोशीपुर गाउँपालिकाका तीन बाख्रा फार्मलाई ४० लाख तथा कैलारी गाउँपालिकाका दुई बङ्गुर फार्म, दुई समूह र एक सहकारीलाई ४० लाख अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार  १४ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।