नाइमा एक्स्पोमा झण्डै २ लाखले गरे अवलोकन,४ हजारभन्दा बढी गाडी बुकिङ


काठमाडौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित समापन भएको हो । ६ दिन चलेको नाइमा एस्क्पोमा ४ हजारभन्दा बढी गाडी बुकिङ भएको हो ।


सबैभन्दा बढी बुकिङ गर्नेमा चारपाङ्ग्रे गाडीमा बीवाईडी, टाटा र चेरी गाडि बुकिङ भएको जनाइएको छ । त्यसबाहेक महिन्द्रा, हुन्डाई, एमजी र लिपमोटर रहेका छन् । दुईपाङ्ग्रेमा एथर, ट्राइम्फ, रोयल इन्फिल्ड, याडिया र सीएफ मोटरका सबैभन्दा बढी बुकिङ भएका छन् ।

एक्स्पोमा वुलिङको ४५०, एमजीको ३२९, , जीडब्ल्यूएमको २०५ होन्चिको ५५, प्रोटोनको १०० र वटा गाडी बुकिङ भएका छन् ।बीवाईडीको १ हजार, टाटाको ७००, म्याक्ससको ३४, निसान म्याग्नाइटको २१, टेकटनको १४, आइकारको ५०, टोयोटाको ४६, कियाको ७ र चेरीको ७००, महिन्द्राको १००, लिपमोटरको २०० र हुन्डाईको १५० गाडी बुकिङ भएका छन् ।

समग्रमा सबै दुईपाङ्ग्रे ब्रान्डका कुल १२०० बुकिङ भएका छन् जसमा एथरका ४००,सीएफ मोटरका २००, टीभीएसका २००, सुजुकीका ५०,ट्राइम्फका १००, रोयल इन्फिल्डका १००, केटीएमका ६० र मोर्बिडेलीका ४५ वटा सवारीसाधन बुकिङ भएका छन् ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको मेलाको समापनका दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेका छन् । त्यस्तै एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार तथा पाँचौँ दिन शनिबार ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए । नाइमाले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो ।


समापन कार्यक्रममा अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनु, एक लाख ८० हजारभन्दा बढीले अवलोकन गर्नु तथा ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनु नै यस एक्स्पोको ठूलो उपलब्धि भएको बताइन् ।


’यो एक्स्पो कुनै एक व्यक्ति वा संस्थाको मात्र सफलता होइन, नेपालको सम्पूर्ण मोबिलिटी उद्योगको सामूहिक सफलता हो, म सबै सहभागीलाई हार्दिक धन्यवाद भन्न चाहन्छु,’ उनले भनिन्, ’एक्स्पोमा नयाँ सवारीसाधन र प्रविधि प्रदर्शनसँगै ज्ञान र सिकाइलाई पनि प्राथमिकता दिएका थियौँ, एक्स्पो सवारी साधन प्रदर्शन गर्नेमात्र नभएर ज्ञान सिर्जना गर्ने प्लेटफर्म पनि बन्नुपर्छ भन्ने हाम्रो विश्वास हो ।’


एक लाख ८० हजारभन्दा बढी मानिस एक्स्पोमा आउनु नाइमा जस्तो युवा संस्थाका लागि सबैभन्दा ठूलो उत्साह र प्रोत्साहन भएको उनले बताइन् । ’यो अन्त्य होइन, सुरुवात हो,’ उनले भनिन्, ’आगामी दिनमा अझ ठूलो, अझ राम्रो र अझ बलियो भएर अघि बढ्ने हाम्रो लक्ष्य छ ।’


नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले नाइमा एक्स्पोमा यति ठुलो संख्यामा मानिसको आगमन हुनु सुखद संकेत भएको बताए । ’नाइमा एक्स्पो सबै हिसाबले सफल भएको छ,’ उनले भने, ’अटो इन्डस्ट्रीकै लागि यो खुसीको विषय हो ।’


अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडा मेला सोचे र अनुमान गरेभन्दा बढी सफल भएको बताए । ’हामीले अपेक्षा गरेभन्दा धेरै नै बढी मानिसले मेला अवलोकन गर्नुभएको छ,’ उनले भने, ’सोचेभन्दा धेरै अवलोकनकर्ता, सोचेभन्दा राम्रो इन्क्वायरी र सोचेभन्दा राम्रो बुकिङ भएको छ, हामी धेरै नै उत्साहित भएका छौं ।’


त्यसैगरी नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले मेला सुपरहिट भएको बताए । ’नाइमा एक्स्पोलाई एक शब्दमा बयान गर्ने हो, त्यो शब्द हो सुपरहिट,’ उनले भने ।


नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बृहत् प्रदर्शनीसहित सिकाइ सत्रहरु, बृहत्तर सहकार्य र मागकेन्द्रित व्यवस्थापनमा ध्यान दिँदै एक्स्पोको परिभाषालाई अवधारणागत रुपमा पुस्ट्याइँ गरिएको बताए । ’अवलोकनकर्ताले देखाएको सन्तुष्टि नै नाइमा एक्स्पो सफलताको मापक हो,’ उनले भने ।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार  ०७ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।