दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन


संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न पेन्टागनलाई निर्देशन दिएका छन । दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी युद्धमा सहयोग गर्न अस्वीकार गरेको तथा उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै ट्रम्पले यस्तो निर्देशन दिएका हुन ।

ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेख्दै सोमबारदेखि सुरु भएको संयुक्त सैन्य अभ्यास महँगो हुनुका साथै उत्तर कोरियाका लागि ‘पूर्ण रूपमा अनुपयुक्त र शत्रुतापूर्ण सन्देश’ भएको बताएका छन् । उनले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरिया ‘अहानिकारक र सम्मानजनक’ रहेको दाबी गरे ।

“अभ्यास रद्द गर्न अब धेरै ढिलो भइसकेको तथ्यलाई मध्यनजर गर्दै मैले रक्षामन्त्री पिट हेगसेथलाई संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न निर्देशन दिएको छु”, ट्रम्पले लेखेका छन ।

ट्रम्पका अनुसार उनले हालै दक्षिण कोरियाली राष्ट्रपतिसँग इरानको ‘आणविक निशस्त्रीकरण’ प्रयासमा अमेरिकालाई सहयोग गर्नेबारे सोधेका थिए । तर, दक्षिण कोरियाले त्यसमा असहमति जनाएको उनले बताए।

यो निर्णय दक्षिण कोरियासँगको अमेरिकी सुरक्षा गठबन्धनप्रति ट्रम्प प्रशासनको दृष्टिकोणमा आएको महत्त्वपूर्ण परिवर्तनका रूपमा देखिएको छ । यसअघि मे महिनामा पेन्टागनमा भएको बैठकमा रक्षामन्त्री हेगसेथले दक्षिण कोरियाको रक्षा खर्च बढाउने प्रतिबद्धता र कोरियाली प्रायद्वीपको सुरक्षामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने तयारीको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।